मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले मातृभूमि राष्ट्रिय सम्मान २०८० वरिष्ठ संस्कृतिविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङ्गलाई प्रदान गर्ने भएको छ ।
मातृभूमिले आफ्नै अक्षयकोषबाट स्थापना गरेको उक्त सम्मानको राशि नगद २५ हजार १ रुपियाँ रहेको छ । नेपाल र नेपालीलाई चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघसंस्था लाई प्रत्येक २ दुई वर्षमा प्रदान गरिने मातृभूमि राष्ट्रिय सम्मान २०८० गुरुङ्गलाई समर्पण गर्ने निर्णय गरिएको अध्यक्ष माधव पोख्रेलले जानकारी दिए ।
यसैगरी मातृभूमि लघुकथारत्न सम्मान २०७९, वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेद्वारा लिखित पुस्तक लघुकथालय लाई समर्पण गरिने पोख्रेलले बताए । मातृभूमि कार्य समिति सदस्य किशन पौडेलद्वारा स्थापित उक्त सम्मान ११ हजार १ सय ११ रुपियाँ राशिको रहेको छ ।
मातृभूमिको स्थापना दिवस आगामी असोज ६ गते शनिबार हेटौंडामा बिबिध साहित्य कार्यक्रमको आयोजना गरि मातृभूमिले उक्त पुरस्कार तथा सम्मान समर्पण गर्ने भएको छ । सोही अबसरमा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य “महाकाश” को पनि विमोचन गरिने छ ।
पोख्रेलका अनुसार मातृभूमि स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा २०८० साललाई रजत जयन्ती वर्ष मनाउने भएको छ । “मातृभूमिको अभियान- साहित्य, संगीत, संस्कृति, कलाको सम्मान” भन्ने उदेश्यले २०५६ साल असोज ६ गते स्थापना भएको मातृभूमि साहित्य समाज मकवानपुरले भाषा र साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिदै आएको छ ।

