मकवानपुर । शारिरीक अशक्त भएर घरमै बसिरहेका मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका ८ इपाका प्रेम बहादुर कठोयतले गाउँपालिकाको अध्यक्षले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिएपछि खुसीले भावविहल भए ।
“मलाई खोजेर घरैमा आएर हातैमा भत्ता देलान भन्ने कल्पनै गरेको थिइन्” उनले भने “अध्यक्षको लगन देखेर खुसी लाग्यो, साँच्चै जनताको माया गर्ने र विकास प्रेमी रहेछन् ।”
शारिरीक रुपमा कमजोर भएको अवस्थामा आफ्नो प्रतिनिधि आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता लिएर आएपछि मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका वडा नम्बर ८ ज्येष्ठ नागरिकहरु खुसी भएका छन् ।
स्थानीय ८३ वर्षीय बद्रीबहादुर दानि स्थानीय सरकार भएको आभाष बल्ल भएको प्रतिक्रिया दिए । गाउँपालिकाले यस आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गाउँमा पुगेर वितरण सुरु गरिएको हो । चालु आर्थिक वर्षको साउन १५ गतेबाट सुरु गरिएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिका ८ साविक इपा गाविसमो वडा ५,६,७,८, र ९ वडाको लागि वडा कार्यलय इपाबाट वितरण गरिएको हो ।
भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यलयमा गाउँपालिकाको अध्यक्ष हिदम लामा वडा अध्यक्ष विष्णुबहादुर लामा वडा सदस्य नबराज अधिकारी वडा सचिव कृष्ण बहादुर बस्नेतलगायतका साथमा प्रभु बैंकको प्रतिनिधिहरु पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
अबदेखि गाउँको जेष्ठनागरिक,अपांग लगाएत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिलाई हेटौंडा, भीमफेदी, काठमाडौ जान नपर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष लामाले जनताको पक्षमा काम गर्न आफू सधैं तत्पर रहेको बताए । अपाङ्गता भएकाहरु, एकल महिला र दलित बालबालिका सामाकि सुरक्षा भत्ता वितरण गरिएको थियो ।
भीमफेदी गाउँपालिकाको विकट गाउँदेखि हेटौंडा आएर सामाजिक सुरक्षा भत्ता लिनु पर्ने दुखको अन्त्य गरेको वडा अध्यक्ष विष्णुबहादुर लामाले बताए । यसैगरी प्रत्यक तीन महिनामा जनप्रतिनिधिलगयत वडाको कर्मचारीको रोहवरमा बैंकको प्रतिनिधि मार्फत गाउँमा नै आएर भत्ता वितरण गरिने वडा अध्यक्ष लामाले बताए ।

