एउटा जरूरी सूचना मेल गर्नु थियो। प्रतापले बिर्सेछ। च्यामबरमा जीएमको गाली खाएर आयो।
-हैट! यो नाथे कम्पनीको काम ! भालुको कन्पट नै भयो।-फतफताएको मैले सुने।
-अलिक कन्सन्ट्रेशन लगाउनुहोस काममा ! मलाई नै भन्नु भएको भए भइ हाल्ने हो । एउटा क्लिक गर्नु त थियो।- मैले भने
प्रतापले मलाई हेर्यो । केही भनेन ।
यो शहरमा कही युवाहरू छन् । जिन्दगी बनाउन आएकाहरु। म छु । प्रताप छ । थुप्रै छन् । वास्तवमा मैले पनि आजसम्म लेखाजोखा नै गर्न सकिन नगरमा जिन्दगी बन्दैछ कि बिग्रिदैछ !
पानी रोकिने नाम गरेको छैन बाहिर । राती अबेर भए अटो भेटिन्न । टोटोरिक्सा रिजब गर्नु पर्छ । झण्डै एघार बज्यो । ढुक्क छु।भोलि अफ् डे हो मेरो । दार्जीलिङ मोडसम्म पुगे ढुक्क हुन्थ्यो मलाई । तर पानी अझ बडेको छ। चट्याङको कारण बिजुली छैन । आजको मौसमले धेरै रेकर्ड तोड्यो ।
प्रतापले नयाँ वाइक किनेको छ । तर मलाई कहिल्यै चडाएन । आधा बाटोसम्म हाम्रो एउटै बाटो हो । तर उसले मलाई कहिले अफर दिएन । आज पनि आश छैन मेरो उमाथि । मदेखि जुनीयर केटा हो प्रताप । एउटा निजी कम्पनीमा एक साथ काम गरेको धेरै भयो । उसको र मेरो काम बिषय माथि मात्र कुरा हुन्छ । अरू म केही जान्दिन उसको बारेमा । केटा राम्रो छ। उ अविवाहित हो।यति थाहा छ।
मध्य रातसम्म पानी रहेन ।
-जौ मसंग !!
म छक्क परे । प्रतापले मलाई भन्यो । म चडे पछितिर । बाइकमा।
आधा घण्टा जस्तो कुदे पछि बाइक एउटा अपार्टमेन्टको पार्किङ स्थलमा रोकियो।
–आज यतै बसौ । भोलि अफ् त छ तपाईको ।-उसले भन्यो । मेरोसँग अर्को अप्सन थिएन।
उसको आलिशान फ्याटको सजावट देखेर म दङ्ग भए। खुसी पनि लाग्यो।
उ निशा हो !- एउटा युवतीको परिचय गरायो प्रतापले ।
उसले सिधै आएर मसँग हात मिलाइ ।
हेलो !!- भनिन्।
आधा मुस्कान थियो उसको मुहारमा । म दङ्ग भए ।
बाथरूम पसेर म फ्रेस भए। टेबलमा खाना तयार भएछ ।
भित्र कोठाबाट मन्द आवाजमा कुनै अंग्रेजी गीतको धुन बजिरहेको थियो । यो क्षण मेरो निम्ति साँच्चै सुमधुर थियो।
खाना खायौ हामीले। आधा रात भाडाको कोठा पुगेर लटरपटर खाना बनाएर खाने मलाई आज मिठो खाना जुर्यो । प्रतापलाई हेरेर मुसुक्क हाँसी दिए । उ पनि हाँस्यो । उनीहरू खासखुस गर्दै थिएँ ।
अहिले गीतको धुन पनि बन्द भयो।रूम फ्रेसरको खै कुन गन्ध हो तर बडो मिठो थियो ।
-गुड नाइट !-प्रतापले भनेर जादै थियो । मैले रोकेर सोधे-तपाई त मेरिड हुनुहुदो रहेछ त !(?)
-हैन नी!-उसले भन्यो।
-के हो त यो?- मैले सोधें।
-लिभिङ रिलेसनसिप!!- उसले भन्यो र ड्याम ढाेका लगायो।
एकक्षण टाउको कनाएको जस्तै गरे ।
यता अर्को कोठाको ढाेका मैले लगाए ।
दार्जिलिङ, भारत

