मकवानपुर /मकवानपुर जिल्ला कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले जिल्ला बाहिरबाट कामदार ल्याउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसैगरी सरकारी तथा निजि संघसंस्थाहरुबाट यस जिल्लामा आउन र बाहिरी जिल्लामा जान पुर्ण रुपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको कारण हेटौंडा औद्योगिक क्षेत्रमा यसअघि पनि कामदार ल्याउनै समस्या रहेको र अबको एक साता प्रतिबन्ध नै लगाइएपछि उत्पादनमा समस्या हुने उद्योग संघ मकवानपुरले जनाएको छ । धेरैजसो उद्योगमा प्राविधिक कामदारहरु ल्याउन नसकिएको भन्दै उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले यसकै कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताउनु भयो ।
हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडले अत्यावश्यक उत्पादनका उद्योगहरु ५० प्रतिशत मात्रै सञ्चालनमा आएको बताएको छ । अन्य क्षेत्रका उद्योगहरु भने ३० देखि ४० प्रतिशत मात्रै सञ्चालनमा आएका छन् । कोरोना संक्रमणको कारण उद्योग कलकारखाना बन्द हुँदा राजस्व संकलनमा प्रत्यक्ष असर पुगेको छ । यसको एउटा उदाहरण हो हेटौंडाको औद्योगिक क्षेत्र । देशकै ठूलो औद्योगिक क्षेत्र हेटौंडा औद्योगिक क्षेत्रबाट राज्यले दैनिक एक करोड रुपियाँ भन्दा बढी राजश्व घाटा व्यहोर्नु परेको छ ।
मकवानपुर जिल्लाको अधिकांश उद्योगमा कार्यरत अधिकांश मजदुरहरुलाई जिल्ला बाहिरका रहेका छन् । कोरोना संक्रमण रोकथामको लागि भएको लकडाउनपछि घर गएका मजदुरहरु काममा फर्कन पाएका छैनन् ।हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार अहिले मासिक ३३ करोड रुपियाँ भन्दा बढी राजश्व घाटा भएको छ ।
कोरोना संक्रमणका कारण अहिले औद्योगिक क्षेत्रका ९५ प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा आए पनि ६५ प्रतिशत मात्रै उत्पादन भइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिनुभयो । ‘कोरोनाको त्रासको कारण उद्योगहरु सञ्चालनमा आएपनि पूर्ण क्षमतामा चलेका छैनन्’ कँडेलले भन्नुभयो । उत्पादनमा धेरै कटौती भएसँगै राजश्व संकलनमा ठूलो प्रभाव परेको हो । नियमित सञ्चालन हुँदाको अवस्थामा औद्योगिक क्षेत्रबाट सरकारले मासिक १ अर्ब रुपियाँ भन्दा बढी राजश्व संकलन गर्ने गरेको कँडेलले बताउनु भयाे ।
औद्योगिक क्षेत्रमा हाल १ सय ३५ वटा उद्योगहरु रहेकोमा १ सय ११ वटा सञ्चालनमा रहेका छन् । सात वटा खारेज भएका छन् भने १७ वटा उद्योगहरु निर्माणाधिन रहेका छन् । सामान्य अवस्थामा ४ हजार ५ सय जनाले रोजगारी पाइरहेको थिए । सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नै उद्योगहरु सञ्चालन भइरहेको उहाँले बताउनु भयो । गत चैत ११ गतेदेखि लकडाउन भएपनि यस क्षेत्रमा २० उद्योगहरु नियमित सञ्चालनमा रहेका थिए । अत्यावश्यक उत्पादनका उद्योगहरु सञ्चालनमा रहेको उहाँले बताउनु भयो ।
जेठमा ४८ प्रतिशत उद्योगहरु सञ्चालन भएका थिए, लकडाउनकै समयमा पनि बैशाखमा १ हजार ३ सय, जेठमा १ हजार ५ सय कामदारहरु नियमित काममा रहेको कार्यालयले जनाएको छ ।
अहिले अत्यावश्यक उत्पादन हुने उद्योगहरु शतप्रतिशत क्षमतामा सञ्चालन भए पनि अन्य उद्योगहरुले ४० देखि ४५ प्रतिशत उत्पादन दिइरहेको कार्यालय प्रमुख कँडेलले बताउनु भयो ।
अहिले कार्पेट, निर्माण सामाग्री उत्पादन, रंगरोगन उत्पादन उद्योगलगायतका उद्योगहरुको उत्पादन निकै कम मात्रै सञ्चालनमा छन् भने यि सामानको बजार मूल्य आकाशिएको छ ।
कमाण्ड पाेष्टकाे निर्णय हेर्नुहाेस्


