मकवानपुर । मकवानपुरगढी गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट सर्वसम्मत पारित भएकाे छ । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले बुधबार नवौं गाउँसभाको दोस्रो बैठकमा ७२ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाले गत असार १० गते वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउँदा क्रममा ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरिएकाेमा बुधबार १० करोड बजेट बढेर प्रस्तुत गरिएकाे हाे । चालु खर्च तर्फ ३४ करोड ९४ लाख ७३ हजार ४३६ रुपैयाँ र पुजीँगत खर्च तर्फ ३७ करोड ७० लाख ८२ हजार ५६५ रुपैयाँ रहने गरी गाउँपालिकाले बजेट ल्याएकाे हाे ।
महिला तथा बालबालिका शाखालाई १० लाख, स्वास्थ्य शाखालाई ८० लाख, कृषि विकास शाखालाई ६० लाख, पशु शाखालाई ८० लाख, शिक्षा शाखालाई २ करोड, खेलकुदलाई, २५ लाख रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेकाे छ । यसैगरी गाउँपालिकाले लक्षित वर्गको कार्यक्रम अन्तरगत दलित लक्षित १० लाख, जनजाति लक्षित १० लाख, अपाङ्ग लक्षित ८ लाख, महिला लक्षित ९ लाख, बालबालिका १० लाख, युवा लक्षित ६ लाख, कार्यपालिका सदस्य लक्षित कार्यक्रमलाई १५ लाख बजेट विनियोजन गरेकाे छ ।
गाउँपालिकाकाे पारित बजेटमा आम्दानी आन्तरिक स्रोतबाट ११ करोड ६३ लाख, सम्पती बहाल तथा पट्टामा लाग्ने कर ५ लाख, भूमिकर १२ लाख, घरबहाल कर ५ लाख हुने अनुमान रहेको छ । यसैगरी व्ययतर्फ आर्थिक विकासमा ४ करोड ८ लाख, पूर्वाधार विकासमा २९ करोड २४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ५५ लाख ९४ हजार, सामाजिक विकासमा २८ करोड ५३ लाख, ३९ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ९ करोड ६५ लाख रहेको छ ।
बकैया गाउँपालिकाको ८१ करोड ७० लाखकाे बजेट पारित
मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को ८१ करोड ७० लाख १४ हजार रुपैयाँको बजेट आइतबार सर्वसम्मत पारित भएको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले चालुतर्फ ५४ करोड ४५ लाख ६४ हजार रुपैयाँ र पुँजीगततर्फ २७ करोड २४ लाख ५० हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
गाउँपालिकालाई संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३१ करोड ५५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ ३ करोड ९ लाख १४ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । वडाहरुको समानुपातिक विकास गर्नका लागि प्रत्येक वडामा ४५ लाखको दरले बजेट विनियोजन गरेकाे गाउँपालिकाले जनप्रतिनिधिहरुको लागि १० लाखसम्मको सामूहिक दुर्घटना बीमाको लागि पिन बजेटको विनियोजन गरेकाे छ ।
गाउँपालिकाले कृषि कार्यक्रम कार्यान्वयन गर्न १ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेका छ छ । पशु बीमा कार्यक्रम सञ्चालनलगायतका कार्यक्रम कार्यान्वयन गर्न ३ करोड १८ लाख बजेट विनियोजन भएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई उत्प्रेरित गर्न मासिक थप २ हजार रुपैयाँका दरले तलब वृद्धि हुनेगरी १८ लाख ५० हजार बजेट विनियोजन गरिएकाे छ ।
गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका संरचना र स्थानको विकास, विस्तार र संरक्षणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिए । यस्तै, विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न विपद् तथा प्रकोप व्यवस्थापन कोषमा बजेट विनियोजन गरिएकाे छ ।
देशकै दोस्रो बालमैत्री गाउँपालिकाको रूपमा घोषित पालिकाले बालमैत्री शासनको दिगोपनाका लागि बालमैत्री अभियानलाई निरन्तरता दिने भएको छ । खेलकुद क्षेत्रमा पालिकास्तरीय प्रतियोगिता सञ्चालनका लागि ३५ लाख बजेट विनियोजन भएको छ । यस्तै, स्वास्थ्य क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न १ करोड १८ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
गाउँपालिका भित्रमा ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाहरु नापी गरेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता परिपूर्तिका लागि विपन्न नागरिक आकस्मिक कोषकाे व्यवस्था गरि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।

