मकवानपुर । संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
संविधान अनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी ब्यबस्था भएकोले संघीय सरकारले आज बजेट दुबै सदनको संयुक्त बैठकमा पेश गर्न लागेको हो।
जेठ ५ गते सदनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रम सदनमा छलफल पश्चात गत शनिबार पारित भएको थियो ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर करिब १७ खर्बको बजेट ल्याउने तयारी गरेको बताइएको छ ।
सामान्य भाषामा भन्दा बजेट भन्नाले सरकारको आय र व्ययको वार्षिक अनुमान हो । सरकारले हरेक वर्ष गर्ने खर्च तथा खर्च धान्नका लागि आवश्यक स्रोतको अनुमान नै बजेट हो ।
सरकारले बजेट तयार पारी कर उठाउन करको दररेटसमेत समावेश गरी राष्ट्रिय ढुकुटीमा जम्मा हुनसक्ने अनुमानित रकमलाई कुन—कुन क्षेत्रमा कति खर्च गर्ने भनी विस्तृत विवरणसहित स्वीकृतिका लागि संसद् समक्ष पेश गर्दछ ।

