
जनस्वास्थ्यविज्ञ रवीन्द्र पाण्डे, साहित्यको सगरमा रवीन्द्र समीर चिनाइरहनु पर्ने कुनै नौलो नाम होइन । पेशाले डाक्टर भएपनि उहाँ लघुकथाको क्षेत्रमा सङ्ख्यात्मक रूपमा सबैभन्दा धेरै लघुकथाकृति प्रकाशन गर्ने सर्जक हुनुहुन्छ ।
एमडी र एमपीएच सम्मको शिक्षा आर्जन गर्नुभएका श्रष्टा डा. समीर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै सम्मान र पुस्कारहरूले बिभूषित भइसक्नु भएको छ। प्रस्तुत छ लघुकथा कै सेरोफेरोमा रहेर लघुकथाकार रबिन्द्र समिरसंग हाम्रो लघुकथा केन्द्र नेपालका संरक्षक राजु क्षत्री ‘अपुरो’ले गर्नु भएको भलाकुसारी:
सर्वप्रथम आफ्नो पुरा परिचय , र लेखन यात्राबारे बताइदिनु होस् न ?
बुवा तेजनारायण पाण्डे र आमा विमला पाण्डेको जेष्ठ पुत्रको रुपमा गुल्मी, धुर्कोट -५ मा वि सं २०३० जेठ २५ मा मेरो जन्म भएको हो । मैले चिकित्सा शास्त्र तथा जनस्वास्थ्यमा स्नातकोत्तर गरेको छु । पेशाले चिकित्सक तथा जनस्वास्थ्य बिशेषज्ञ हुँ । स्वाइन फ्लू, भूकम्प, बाढी, कोरोना महामारी लगायत देशलाई अप्ठ्यारो पर्दा मैले तन, मन र धनले सेवा गर्ने अवसर पाएको थिएँ र भविष्यमा पनि यसको लागि अग्रसर छु । मेरो बुवा शिक्षक तथा कवि हृदयको हुनुहुन्छ । बुवाको प्रेरणाबाट म लेखनयात्रामा बिद्यालयदेखि नै लागेको हुँ । त्यो बेला निबन्ध, कविता, कथा, नाटक, गीत लगायत जे आवश्यक पर्यो त्यहि लेख्ने गर्दथें । मेरो कलेज जीवन सुरु भएपछि लघुकथा विधामा समर्पण बढ्दै गयो । वि सं २०४७ सालदेखि लघुकथा लेख्न सुरु गरेको थिएँ । मेरो पहिलो लघुकथा संग्रह तेस्रो आँखा २०५३ सालमा प्रकाशित भएको हो । हालसम्म मेरा १३ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् । मैले अर्जुनदृष्टि लघुकथा संग्रहको लागि पद्मश्री साहित्य पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कार पाएको छु भने प्रथम राष्ट्रव्यापी लघुकथा प्रतियोगिता, २०५४ मा प्रथम पुरस्कार, नवप्रतिभा पुरस्कार, युवाबर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, रमेश विकल सम्मान, जनमत सम्मान, साहित्य सन्ध्या पुरस्कार, सुरभि लघुकथा पुरस्कार , साताको साहित्य पुरस्कार, लघुकथा समाजबाट रामचन्द्र पद्मा लघुकथा पुरस्कार, श्रष्टा सम्मान ( जर्मनी ), एन आर एन साहित्य सम्मान ( लक्जेम्बर्ग ), विश्व साहित्य महासंघ सम्मान ( रुस ), महेन्द्र बिद्याभुषण पदक , नेपाल बिद्याभूषण पदक, त्रिवि तथा नर्दन युनिभर्सिटी बंगलादेशबाट स्वर्ण पदक लगायत ३ दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाएको छु ।
यहाँं लघुकथा मै बढी केन्द्रित हुनुको खास कारण के होला ?
बिज्ञान तथा चिकित्सा शास्त्र अध्ययनमा निकै कठिन बिषय हुन् । ती कठिन बिषयमा प्रथम हुने दौड झनै कठिन बिषय हो । यो बीचमा साहित्यिक अध्ययन तथा लेखन छनोटमा आधारित भयो । जब मैले खलिल जिब्रान, आन्तोन चेखब, स्टेफेन किंग, मोपासा, आर्नेस्ट हेमिंग्वे, विश्वेश्वरप्रसाद कोइराला, भैरब अर्याल, भूपि सेरचन, शंकर लामिछाने, मनु ब्राजाकीलगायतका पुस्तक पढें, मभित्र तृषित लेखनले लघुकथाको बाटो समायो । थोरै शब्दमा धेरै भन्न सकिने कलाको अभ्यास गर्दै जाँदा लघुकथा मेरो प्रिय विधा बन्यो । प्रकाशन, प्रतियोगिता, पुरस्कार, आदरणीय पाठकको प्रतिक्रिया आदिले म लघुकथा विधामा थिग्रिएं | अहिलेको व्यस्त तथा बिशेषज्ञ युगमा हाम्रो लेखन पनि तदनुसार हुनु पर्दछ भन्ने मेरो मान्यता हो ।
एउटै बिषयमा लघुकथा लेख्ने सोच कसरी आयो ? कुन कुन पुस्तक एकै बिषयमा आधारित रहेर लेखिएका छन् नि ?
पहिले परम्परागत संरचनामा रहेर अर्थात सैद्धान्तिक संरचनामा रहेर लघुकथा लेखें । मलाई लाग्यो कि हामीले लघुकथामा नयाँ प्रयोग गर्न सकिन्छ । त्यसपछि मैले एकै विषयका ५६ लघुकथाको संग्रह ‘ईश्वरका कथा ‘लेखें । नेपाली साहित्यमा एकै बिषयमा लेखिएको पहिलो लघुकथा संग्रह ईश्वरका कथा हो ।
मृत्युको एकै बिषयमा लघुकथाको शैलीमा लेखिएको पहिलो उपन्यास ‘मृत्युको आयु’ हो । यसमा बैदेशिक रोजगारीमा रहेको श्रमिकको मृत्युबाट लघुकथा उपन्यास सुरु भएर उसको तेह्रौं दिनको किरियाकर्ममा टुंगिएको छ । मृत्युको आयुमा १६६ वटा लघुकथा छन् । यो निश्चित समयमा आधारित लघुकथा हो जसले मृत्युलाई बिबिध कोणबाट हेरेको छ । हालै प्रकाशित ‘कोरोनातन्त्र’ सूत्र उपन्यासमा १०१ वटा लघुकथा छन् लघुकथा विधाको बिबिधता बिभिन्न कोणबाट गर्न सकिन्छ भन्ने मेरो मान्यता हो । यसरी हेर्दा मेरा १० वटा लघुकथा संग्रह प्रकाशित भएका छन् ।
कतिपय बौद्धिक लघुकथाकारहरूका लघुकथा पढ्दा बढी दार्शनिक र आम पाठकले नबुझिने शैलीमा लेखिएको पाइन्छ। लेखकले आफुले मात्रै बुझ्ने गरि लेख्ने कि पाठकले नि बुझ्न सहज हुने गरि लेख्ने ? यो बारे यहाँको आफ्नो अभिमत कस्तो छ ?
लेखकले कसको लागि लेख्छ ? आफ्नो लागि वा आम पाठकको लागि ? निश्चय नै लघुकथा बौद्धिक विलासिता प्रदर्शन गर्ने भन्दा पाठकमैत्री हुनुपर्दछ । यसो भनिरहँदा लघुकथाको मर्म बिर्सिनु हुँदैन । कथ्य,बिम्ब, व्यंग्य र अन्त्योत्कर्ष यी चार तत्व नभएको लघुकथामा प्राण हुँदैन । निष्प्राण लघुकथा लेख्नु र बौद्धिकविलासिताको लेख्नु उस्तै अतिवाद हुन् । यी अतिवादबाट लेखक बच्नु जरुरी छ ।
लघुकथा के हो र कस्तो हुनुपर्ने हो ? यहाँले लघुकथालाई कसरी परिभाषित गर्नु भएको छ ?
हामीले लघुकथा लेख्ने बेलामा लघुकथा के हो ? कसरी लेख्ने भन्ने प्रश्न हरेक ठाउँमा उठ्ने गर्दथ्यो । अहिले लघुकथा संग्रहहरु, यसका सैद्धान्तिक पक्षहरु आदि बारे थुप्रै पुस्तक निस्किएका छन् । लघुकथा पाठ्यक्रममा समेत समाबेश भइरहेको छ । लघुकथामा धेरै थेसिस लेखिएका छन् ।लघुकथामा एमए, एमफिल, पिएचडी गर्ने व्यक्तिहरु हुनुहुन्छ । तसर्थ हामी सर्जकले लघुकथाको परिभाषा र संरचना व्याख्या गर्नु नपर्ला । हामीले गर्ने सिर्जना हो
लघुकथाको उन्नयमा लागिपरेका सक्रिय पेजहरुका गतिविधिलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
लघुकथाको उन्नयनको लागि धेरै संस्था, पेज तथा गतिबिधि हुनु सुखद पक्ष हो । लघुकथा कुनो, आधुनिक लघुकथा, लघुकथा पाठशाला ( हाम्रो लघुकथा केन्द्र नेपाल), नमस्ते आधुनिक लघुकथा मञ्च आदि भर्चुवल माध्यमले नयाँ तथा पुराना लेखकलाई स्पेस दिएका छन् । ती लघुकथाबारे टिप्पणी, प्रतिटिप्पणी भएका छन् । लघुकथा वाचन लोकप्रिय बनेको छ । यी पेजका कारण सयौं लघुकथाकारको जन्म भएको छ | दर्जनौं लघुकथा संग्रह प्रकाशित भएका छन् । यी पेजबाट लघुकथा विधाबारे सैद्धान्तिक छलफल, पुस्तक लोकार्पण, अन्तरक्रिया आदि भएका छन् । तसर्थ लघुकथाको उन्नययनमा यी पेजको ठूलो योगदान रहेको छ । यसको साथै बिभिन्न अनलाइन पत्रिका, अनलाइन साहित्यिक संस्थाले पनि लघुकथा र सर्जकलाई बाँध्ने काम गरेका छन् ।
यहाँ लघुकथामा धेरै पुस्तक प्रकाशन गर्नु भएका स्थापित एवं चर्चित लघुकथाकार, अहिले लघुकथाका पुस्तक प्रकाशन गर्ने बाढी नै आएको छ। धेरैका पुस्तक बिक्री समेत भैरहेको अवस्था पनि छैन। यो अवस्थामा पुस्तक निकाल्न चाहानुहुनेहरू नयाँ लेखकहरूलाई के सुझाव दिन चाहानु हुन्छ ?
यो निकै महत्वपूर्ण प्रश्न हो । अहिले लघुकथाको बाढी आएको छ । बाढीमा पानी मात्र हुँदैन । धेरै पतकर पनि हुन्छन् । मैले क्षमाप्रार्थी हुँदै भन्नु पर्दछ, अहिले निस्किएका ९० प्रतिशत लघुकथा/ संग्रह अल्प गुणस्तरीय छन् । गुणस्तर पक्षलाई वेवास्ता गर्दा प्रकाशक नपाउने, पाठक नपाउने, पुस्तक बाँंड्दै हिड्नुपर्ने अर्थात बिक्रि नहुने स्थिति छ । स्तरीय लघुकथा संग्रहको बिक्रि राम्रो छ | रोयल्टी पनि राम्रो पाएको अवस्था छ । पुरष्कृत पनि भएका छन् । समीक्षा,समालोचना भएको छ । लघुकथा संग्रह तयार भएपछि गुणबत्ता लेखकसंग अन्तरक्रिया गर्ने वा पारिश्रमिक दिएर सम्पादन गर्न लगाउने तथा प्रकाशन गृहबाट प्रकाशन गराउने गर्नुपर्दछ । आफैंले छाप्ने खर्च सम्पादनमा लगाउने हो भने प्रकाशक, पाठक र रोयल्टी पाउन गाह्रो छैन । सम्पादनको संस्कृति विदेशमा निकै उन्नत छ । हामीकहाँ त्यो संस्कृति सुरु भएको छ ।
यहाँ पनि अग्रजहरूका लघुकथाहरू पढेर प्रभावित हुनु भएको होला नै ।आफूभन्दा अग्रज लघुकथाकारहरू मध्ये को कसलाई आफ्नो मानसपलटमा राख्नु भएको छ ?
मेरा धेरै अग्रज हुनुहुन्छ, उहाँहरुको सद्भावविना मेरो यात्रा अपुरो हुने थियो नै । पूर्णप्रसाद ब्रह्माण, दुर्लभलाल सिंह, मनु ब्राजाकी, परशु प्रधान, भागीरथी श्रेष्ठ, इन्दिरा प्रसाई, बिनय कसजू, किशोर पहाडी,नारायण तिवारी, ध्रुब मधिकर्मीलगायत दर्जनौं लघुकथा सर्जकबाट प्रभावित छु । श्रीओम श्रेष्ठ रोदन मेरो लघुकथा यात्राको आदरणीय अभिभावक तथा लघुकथाको अथक अभियन्ता हुनहुन्छ । उहाँ र म बसेर लघुकथा समाजको परिकल्पना गरेका थियौं र भदौ ५ गते ५ जनाको तदर्थ समिति बनाएका थियौं । सुमन सौरभ, मुक्तिनाथ घिमिरेलगायत केहि मित्रलाई पढ्दा मलाइ उर्जा मिल्छ । राजु क्षत्री अपुरो, डा. बिदुर चालिसे, शेखर कुमार श्रेष्ठ, दीपक लोहनी, लता केसी, रचना शर्मा आदिको सक्रियता प्रेरणादायी छ । प्राडा कपिल लामिछाने , प्राडा लक्षणप्रसाद गौतम, डा.पुस्करराज भट्ट,ध्रुब मधिकर्मी , हरि प्रसाद भण्डारीलगायतको समर्पण स्तुत्य छ । लघुकथा विधामा लिनुपर्ने नाम धेरै छन् तर यो छोंटो अन्तर्वार्तामा सबैलाई समेट्न सम्भव छैन ।
अन्तमा मैले सोध्न भुलेका , यहाँलाई भन्न मन लागेका केहि बांँकि छन् कि ?
भन्नुपर्ने कुरा धेरै छन् । ती मध्ये एउटा भनेर बिट मार्छु । राम्रो लघुकथा लेख्नको लागि स्तरीय लघुकथा संग्रह खोजीखोजी पढौं, समाजलाई नजिकबाट बुझौं, पाण्डुलिपि तयार भएपछि प्रकाशनमा हतार नगरौं । राम्रो सम्पादकबाट सम्पादन गर्ने परम्परा सुरु गरौँ । धेरैवटा पुस्तक लेख्नुभन्दा एउटा गुणस्तरीय पुस्तक लेख्नुको ठूलो अर्थ हुन्छ । हामीले लेखेका पुस्तक शिलालेखभन्दा गाढा हुन्छन् ताकी पछि आफ्नो पुस्तक देखेर आफैलाई लाज नलागोस् । अन्त्यमा मेरा बिचार राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यबाद ! लघुकथाकार तथा हाम्रो लघुकथा केन्द्रका संरक्षक राजु क्षत्री अपुरोले हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा पोस्ट गर्नु भएको अन्तर्वार्ता हामीले साभर गरेका हौं ।

