मकवानपुर । बीसवर्षभन्दा कम उमेर विवाह गर्नु गैर कानूनी हो । यस्तो विवाहलाई कानूनले कुनै पनि हातलमा मान्यता दिंदैन तर दिनहुँ यस्ता घटना भइरहेका छन् ।
मकवानपुरमा हुने बाल विवाहमा किशोरभन्दा किशोरीको संङ्ख्या दोब्बरभन्दा बढी हुने गरेको एक तथ्याङ्कले देखाएको छ । सन् २०२३ को ४ महिनामा ५ जान बालकहरुको बाल विवाह रोकिदा ८ बालिकाहरुको विवाह रोकिएको छ ।
सन् २०२१ मा मकवानपुरमा १२ किशोरहरुको बाल विवाह रोकिएको छ भने यही साल ३८ किशोरीहरुको बाल विवाह रोकिएको थियो । सन् २०२२ मा ५ बालक तथा ३१ बालिकाहरुको बाल विवाह रोकिएको सिविन बाल हेल्प लाइन मकवानपुरले जनाएको छ ।
नेपालमा सन २०३० सम्म बाल विवाह मुक्त बनाउने लक्ष्य लिइएको छ । तर बाल विवाह न्यूनिकरणको समस्या झन् झन् चुनौतीपूर्ण हुदै आएको सिविन बाल हेल्प लाईन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवलीले बताए ।
बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार २० वर्ष उमेर नपुग्दै गरिएको विवाह स्वत बदर हुन्छ। बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउनेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र तीनवर्षसम्म कैद हुन्छ।
उमेर पुगेको पुरुषसँग बालिकाको विवाह भएमा कतिपय अवस्थामा बलात्कारको मुद्दा समेत लाग्ने हुन्छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार दश वर्षभन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गर्नेलाई जन्मकैद, र दशवर्षदेखि अठार वर्ष उमेरकी बालिका भए उमेर अनुसार सात वर्षदेखि बीस वर्षसम्म कैद सजाय हुन्छ ।
बाल विवाह टड्कारो सामाजिक समस्यको रुपमा रहदा पनि बाल विवाहबारेको घटना प्रहरीमा भने दर्ता नै हुने गरेको छैन । मकवानपुर जिल्लामा सन् २०२३ मा बाल विवाहबारेको एउटा पनि घटना दर्ता भएको छैन । बागमती प्रदेशभरमा पनि जम्मा ४ वटा मात्रै बाल विवाहको मुद्दा प्रहरीमा दर्ता भएको छ ।
प्रहरीमा मुद्दा दर्ता गरेपछि कानुनी प्रक्रियामै जानु पर्ने र अभिभावकहरुले सकेसम्म बाल विवाहको केसलाई सहमतिमा तत्काललाई रोक्न चाहने गरेको कारण बाल विवाहको सवाल प्रहरीमा पुग्दैनन् ।
बाल हेल्प नाइनलमा दर्ता भएका मध्ये ७० प्रतिशत केसहरु आपसी सहमतिमा रोक्न सफल भएको र ३० प्रतिशत केसहरु तत्काललाई रोकिए पनि पुन दोहोरीने गरेको पाइएको छ ।
पछिल्लो समय अधिकांश बालबालिकाहरुले आफूखुसी गर्ने गरेको विवाहको कारण बाल विवाह बढी चुनौतीपूर्ण बन्दै आएको ज्ञवलीले बताए । “आधारभूत वा माद्यमिक तहमा अध्ययनरत बालिकाहरुले उमेर पुगेका पुरुषहरुसँग भागेर विवाह गर्ने गरेको घटना बढेका छन्” उनले भने “यसरी विवाह गर्ने किशोर वा उमेर पुगेका पुरुषहरु शिक्षामा पछाडी रहेका, सवारी चालक काम गर्ने र कतिपय त विभिन्न दुव्र्यसनको शिकार भएकाहरु समेत छन् ।” अभिभावबाट लुकेर प्रेममा परी भागेर बाल विवाह गरेका यस्ता बालिकाहरुको जीवन तुरुन्तै कष्टकर हुने देखिएको उनले बताए ।
बाल विवाह न्यूनिकरणको लागि शिक्षा र पारीवारीक हेरचाहमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । परिवारको नेतृत्व गर्ने पुरूषहरूले छोराछोरीमा समान व्यवहार गर्नु पर्ने अभिभावकहरुले बताए ।
किशोरकिशोरीलाई बढि ब्यस्त राखियो भने पनि अनावश्यक रुपमा अनलाइनमा नबस्ने र गलत कुरा मानसिकताका नराख्ने भएपछि प्रेममा फसेर विवा गर्ने संभावनालाई कम गर्न सकिने जसले बाल विवाह न्यूनीकरण हुने बल पुग्ने अधिवक्ता जगन्नाथ सुवेदीले बताए ।
विकटका बालबालिकाहरुले बिद्यालय टाढा भएको कारण कक्षा ५ पढेर छोडेपछि घरबस्ने र बाल्यकाल मै विवाह गरेको मकवानपुर जिल्ला राक्सिराङ्ग गाउँपालिकाको शिक्षक सर्मिला पौडेलले बताइन् । स्कुल छोडेकालाई सिपमुलक तालिम चाहियो, कक्षा शिक्षामा पनि बाल विवाह बिरुद्धको ज्ञान दिने गरिएको छ, तर पढाइ नै अधुरो भएपछि जीवन कसरी उज्याले बनाउन सकिन्छ ?” उनले भनिन् ।
अस्मिता नेपालको आयोजना बाल विवाह न्यूनीकरणमा पुरूषको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो सवाल उठाइएको हो ।
अस्मिता नेपालले मकवानपुरको राक्सिराङ गाउंपालिका बिगत ४ बर्षदेखी बाल विवाह न्यूनिकरणको सवालमा कार्यक्रम गर्दै आएको अध्यक्ष आरती पाठकले बताइन् ।
बाल विवाह निर्माण किशोर किशोरी समूह निर्माण मासिक बैठक राखेर छलफल चलाउने गरिएको, अभिभावक समूहमा त्रैमासिक बैठकमा समाधानको खोजिबारे चर्चा गर्ने गरिएको र वडा कार्यालयमा जनचेतनामूलक बोर्डहरु राखेर कानूनी सचेतना समेत प्रदान गर्दै आएको कार्यक्रम संयोजक शान्ति कार्कीले बताइन् ।
कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका ५ नं वडा अध्यक्ष हरि बहादुर प्रजाले बाल विवाह र बालश्रम अन्त्यको लागि कार्यक्रम र बजेटमा प्राथमिकता दिने बताए । प्रभावितलाई शिक्षा, सीप र आयआर्जनको लागि कार्यक्रम लागू गर्ने उनले बताए ।
बालबालिकाहरुले आधारभूत तहमात्रै पढेर स्कुल छोड्नुपर्ने बाध्यतालाई टार्नकै लागि प्रजा जागृती आधारभूत विद्यालयलाई मावि बनाउने कोसिस स्वरूप यो बर्षबाट कक्षा ९ सन्चालन सुरू गरेको वडा अध्यक्ष प्रजाले बताए । सभ्य र शिक्षित समाज निर्माण आफू लागेको उनले बताए । कार्यक्रममा सिविनका प्रबन्धक ज्ञवलीले कार्यपत्र प्रस्तुती गरेका थिए ।

