मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिने आश्वासन दिएका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पत्रकारको अधिकार र सञ्चार माध्यमको हितका पक्षमा उभिदै पत्रकारिताको गुणस्तरिय विकासमा बागमती प्रदेशले आफनो तर्फबाट योगदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् । उनले भने– “गुणस्तरिय पत्रकारिताको विकासमा तपाईहरुले पनि आ आफनो ठाउँबाट योगदान गर्नु हुने अपेक्षा राख्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आवाज विहिनहरुको आवाज उठाइरहने प्रेरणा तपाईहरुलाई पनि मिलिरहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।”
‘भविश्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संसारभरका नागरिकले बुधबार प्रेस स्वतन्त्रता दिवस मनाइएको छ।
संयुक्त राष्ट्रसंघको साधारण सभाले सन १९९३ मा घोषणा गरेपछि हरेक बर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइदै आइएको छ । यस अवसरमा बागमती प्रदेश सरकारका तर्फबाट मन्त्री श्रेष्ठले बागमती प्रदेशका सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
यस अवसरमा नेपालको संविधान २०७२ को मर्म र भावना अनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उद्देश्य अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिताका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्राण रहेको उनले बताए । “१०४ बर्षे राणा शासन, तीस बर्षीय निरंकुश पञ्चायत, राजाको प्रत्यक्ष शासन भोगेका तपाई हामीले अभिव्यक्ति स्वतन्त्रताको महत्व राम्रैसँग बुझेका छौं” उनले भने ।
उनले “स्वतन्त्रताको उपभोग गर्दा अरुको आत्मसम्मानलाई ख्याल गर्दै स्वतन्त्रता अराजकता होइन भन्ने मान्यतामा हामी विश्वस्त छौ ।” बागमती प्रदेश सरकार पत्रकारितालाई स्वनियमनमा लैजान प्रोत्साहित गर्न चाहेको तर नियन्त्रण गर्ने द्येय नभएको उनले बताए ।
नेपालको इतिहासमा पहिलो पटक बागमती प्रदेशले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ बमोजिम प्रदेशमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भई सञ्चार माध्यम र पत्रकारको हित प्रवद्र्धन हुने गरी कार्यक्रम सञ्चालन भइरहेको दाबि उनले गरे ।

