मकवानपुर/भिमफेदी गाउँपालिका वडा–३ ज्यालटार र ४ पान्द्राङको बीचमा रहेको राप्ति खोलामा झोलुङ्ग पुल तयार गरिएको छ । पुल तयार भएपछि वारीपारी आवतजावत गर्नको लागि बाध्याताबस् त्रासैत्रासको बीचमा तुइन तान्नु पर्ने पीडाबाट स्थानीय मुक्त भएका छन् ।
नेपाल सरकारले तुइन विस्थापन गर्दै झेलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकता दिए अनुरुप संघीय सरकार, स्थानीय भिमफेदी गाउँपालिका र स्थानीयवासी समेतको योगदानमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
कुल २१ लाख १७ हजार लागतमा करिव ४७ मिटर लामो पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि प्राविधिक तथा सामाजिक सहयोग कार्यमा संलग्न संस्था राडो नेपालका इञ्जिनियर बैकुण्ठप्रसाद सुवेदीका अनुसार स्थानीय गाउँपालिकाले ६ प्रतिशत, स्थानीय उपभोक्ताले २ प्रतिशत र संघीय सरकारले ९२ प्रतिशत लागत व्यहोरेका थिए ।
आज आइतबार पुल उद्घाटन गरिएको छ । भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुलको उद्घाटन गरेका हुन् ।
पुल निर्माण भएपछि आवतजावत गर्न स्थानीयहरुलाई जोखिम टरेको र स्थानीय सरकार जनताको हितको लागि काम गर्न सधैं तत्पर रहेको गाउँपलिका अध्यक्ष हिदम लामाले बताए ।
स्थानीयहरुलाई तुइनको साहारामा सधैं जोखिमयुक्त यात्रा गर्नु परेको बताउँदै गाउँपालिका उपाध्यक्ष पार्वती रानाले अब पुल तयार भएकाले तत्काल तुइन हटाउने प्रक्रिया थालनी गरिने बताइन् ।
आर्थिक वर्ष २०७६/०७७ को बजेटमा पुल निर्माण गरिएको हो । स्थानीयको हितको लागि अत्यावश्यक भएकोले पुलको काम सुरु भएको डेढ महिनामै निर्माण सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । पुल निर्माणले वडा नम्बर ३ ज्यालटार र वडा नम्बर ४ पान्द्राङका स्थानीयहरुलाई स्थानीय बजार, स्वास्थ्य उपचार तथा बालबालिकाहरुलाई विद्यालय आवतजावत गर्न सहज हुने प्राविधिक संस्था राडो नेपालका सामाजिक सहजकर्ता राजन दाहालले बताए ।
“पुल निर्माणपछि ज्यालटारका ७८ घरधुरीका ६ सय ९६ जना स्थानीयहरु प्रत्यक्ष लाभान्वित भएको प्राविधिक संस्था राडो नेपालका कार्यक्रम संयोजक विष्णु धितालले बताए ।
वर्षामा पसल जाँदा होस् वा बालबालिकाहरु स्कुल जाँदा सधैं समस्या थियो अब त्यो हटेको छ, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश्वर थिङले भने ‘अब बिरामी पर्दा उपचारको लागि लैजादा पनि खोला तर्न सहज भयो ।”
वर्षाको मौसममा उत्पादित तरकारी तथा फलफूल विक्रीको लागि लैजान पनि अब सहज हुने भएकोले स्थानीय युवाहरुलाई स्वरोजगारतर्फ प्रेरित गर्न पनि सहज भएको गाउँपालिकाले जनाएको छ । “सबैभन्दा ठूलो कुरा व्यक्तिको ज्यानको सुरक्षा हो, पुल हाम्रो जीवनको सुरक्षा बनेर खडा भएको छ” अध्यक्ष थिङले भने ।
खोला बाढी आएको कारण तुइनबाट खोला तर्न लाग्दा हालैमात्रै हेटौंडा उपमहानगरपालिका–१ का एक वृद्धको तुइनबाट खसेर मृत्यु भएको थियो । सरकारले तुइन विस्थापन गर्दै झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रकाशकीय अधिकृत जीवन कुँवर, राडो नेपालका कार्यक्रम संयोजक विष्णु धिताल, इञ्जिनियर बैकुण्ठ सुवेदीलगायत स्थानीयवासीको उपस्थिती रहेको थियो ।
पुलको उद्घाटन कार्यक्रमपछि पुल मर्मत सम्भार समिति गठन गरिएको छ । यस्तै पुलको रेखदेखको लागि हेरालु समेत नियुक्त गरिएको छ ।

