- गोपिनी दाहाल
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बालबालिमाथि लगानी गर्न बजेटको माग नै नहुने गरेको बताएकी छिन् ।
बाटो र भवन निर्माणको लागि मन्त्रालयमा बजेट माग्नेहरु प्रसस्तै आउने गरेको तर बालबालिकाको सवालमा काम गर्न बजेट माग गर्नेहरु न्युन रहेको उनले बताइन् ।
ग्रामिण जागरण तथा विकास संगठन (राडो नेपाल) को सहजिकरणमा हेटौंडामा भएको बालमैत्री स्थानीय शासन स्थापना तथा दीगोपन विषय कार्यपत्र प्रस्तुती कार्यक्रममा मन्त्री मोक्तानले यस्तो बताएकी हुन् । बालबालिकाको उच्च शिक्षा, ढीलो विवाह, बाल संरक्षणको सवालमा काम गर्न चासो दिनेहरु कमी भएको प्रति मोक्तानले गुनासो गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले बालमैत्री स्थानीय शासन घोषणा गरिने तर कार्यान्वनमा चासो नराखिने गरेको प्रति लक्ष्यित गर्दै घोषणालाई भन्दा कार्यान्वनयलाई दीगोपना दिन ध्यान दिनु पर्ने बताए । “घोषणा ठुलो कुरा हैन, कार्यान्वयन दीगो हुनुपर्यो” जिसस प्रमुख घलानले भने “स्थानीय तहले ध्यान दिनुस् ।”
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बालमैत्री शासनको लागि चौतर्फि ध्यान दिइएको बेला अन्य वर्गको समेत संरक्षण चासो राख्नुपर्ने बताए । ज्येष्ठ नागरिक, अपाङ्ता, महिला सबैवर्गमैत्री संरचना र शासन हुनुपर्ने प्रजिअ पाण्डेले बताए ।
यसैगरी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बालमैत्री स्थानीय शासनको लागि संरचना शिक्षालागतयको सवालसँगै पौष्टिक आहारको सवालमा पनि सरोवारवालहरुले ध्यान पुर्याउनु पर्ने बताए । बकैया गाउँपालिका यस अघि नै बालमैत्री स्थानीय शासन घोषणा भइसकेको स्थानीय तह हो । यहाँ अझै पनि बाल विवाह भएको भन्ने सरोकारवालाहरुको गुनासोप्रति लक्ष्यित गर्दै अध्यक्ष लामिछानेले भने “बालविवाह रोकेर मात्रै बालमैत्री हुने हैन, यसको आयाममाथि ध्यान दिनु र लगानी हुनु आवश्यक छ ।”

प्लान इन्टरनेशनलको सहयोगमा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौंपानेले बालबालिकाको संन्दर्भमा कुरा गर्दा जनप्रतिनिधिसंग समाज नै रुष्ट हुने अवस्था आइसकेको बताए । कार्यक्रममा बालअधिकार परिषद बागमती प्रदेशका सदस्य झविन्द्र ज्ञावलीले स्थानीय सरकारले लागि परेको अवस्थामा बालमैत्री शासन अवलम्बन संभव र सहज रहेको बताए । स्थानीय तहमा बाल अधिकार समिति गठन गरेर बालबालिका मार्फत नै काम गर्ने हो भने बालहितको लागि धेरै काम गर्न सकिने ज्ञावलीले बताए ।
कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, बालअधिकार सम्पर्क व्यक्ति, बाल अधिकारको क्षेत्रमा क्रियाशिल गैससका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम राडाे नेपालका अध्यक्ष डा कृष्ण धितालकाे अध्यक्षतामा भएकाे थियाे । बालमैत्री स्थानीय शासन घाेषणाकाे लागि सराेकारवालाहरुले व्यापक पुर्वतयारी गर्नु पर्ने र घाेषणापछि नियमित कार्यान्वयनमा जानु पर्ने धितालले बताए । कार्यक्रममा अभियन्ता आत्माराम थापाले बालमैत्री स्थानीय तहकाे लागि आवश्यक नीति नियम कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

