मकवानपुर । बाल अधिकार संरक्षण नीतिमाथी भएको तयारी बारे प्रसार कार्यक्रम हेटौंडामा भएको छ ।
प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा राडो नेपाल र हेटौंडा उपमहानगरपालिकाको आयोजनामा यस्तो कार्यक्रम गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक बिष्णुकुमारी लामिछाने बालश्रमिक र बाल विवाहको समस्या अहिले पनि चुनौतीको रूपमा रहेको बताइन् । बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा लागेको हेटौंडा उपमहानगरमा यसबारे गरिदै आएको कार्यक्रम बारे समेत जानकारी गराइएको थियो ।
“बालमैत्री अभियान बालबालिकासंग मात्रै जोडिदैन,यो सवाल समग्र क्षेत्रमा जोडिएको छ” निर्देशक लामिछानेले बताइन् ।
बालमैत्री स्थानीय शासनको लागि वडा तहमा समिती बनाएर निरन्तर काम थालेको लामिछानेले बताइन् । वडा तहदेखि बाल अधिकार समिति निर्माण गरेर, बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न सकिने उनले बताइन् ।
कार्यक्रममा हेटौंडाको विभिन्न वडाका वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख बिना ठिकेले स्थानीय तहहरूसंगै गैससहरू बालमैत्री अभियानमा लागिपरेको बताइन् ।
सन् २०३० सम्म नेपाल बालमैत्री घोषणा गर्ने तयारी लागेको छ । मकवानपुरमा हालसम्म ३ वटा स्थानीय तहहरू बालमैत्री स्थानीय शासन लागू भएको घोषणा भैसकेको छ ।
बाल संरक्षणसंगै बाल अधिकार प्रत्याभूतको लागि अभिभावक शिक्षा, बालमैत्री बिद्यालय निर्माणमा राडो नेपालले योगदान गर्दै आएको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि पूरा गर्नुपर्ने सूचकमाथी छलफल तथा कार्यान्वयनमा संस्थाले भूमिका निर्वाह गर्दै आएको राडो नेपालका कार्यक्रम अधिकृत राजेन्द्र लामाले बताए ।
कार्यक्रममा निर्देशक लामिछानेले बाल संरक्षण नीति, समस्या कार्यन्वयनको पाटो बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

