मकवानपुर । नेविसंघ मकवानपुरमा सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बताएका छन । नेपाली कांग्रेस मकवानपुरले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ। सभापति लामाले बुधबार सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराएका हुन ।
पत्रमा लामाले नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न समेत माग गरेका छन। नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको सभापति लामाले बताए । ‘हाल आएर नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले कांग्रेस कार्यसमितिले सिफारिस गरेको अध्यक्षसहित कार्यसमितिलाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको देखिएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।
नेविसंघ अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै मकवानपुरमा भिषण ठकुरी नेतृत्वको जिल्ला कार्यसमितिबाहेक अरू कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको उल्लेख गरेका छन्।



