मकवानपुर । हेटौंडा सिन्धुली धरान सडकखण्ड अन्तर्गत हेटौंडा–१७, हटिया कठायत चोकमा बुधबार भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।
हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर आफसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका हेटौंडा १८ का अर्जुन भोम्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनमा स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरकी ललिता मगर, नुवाकोट जिल्लाको ककनी नगरपालिका–४ घर भई हाल बागमती गाउँपालिकामै बस्दै आएकी जीना लामा र मोटरसाइकलमा सवार हेटौंडा–१८, भालुखोलाका दीपक घलान घाइते छन् ।
घाइते मध्ये ललिता र जीनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम खड्का मगरले जानकारी दिए ।

