मकवानपुर । बागमती प्रदेश सरकारले बिगत ५ वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेको छ ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा पुस्तक मार्फत प्रगति विवरण सार्बजनिक गरेको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्मका उपलब्धीहरु पुस्तकमा समेटिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।
प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरी रुपमा समेटिएको उनले बताए । पाँच वर्षे उपलब्धका बारेमा आम नागरिकलाई जानकारी गराइदिन पनि उनले आग्रह गरे ।
२०७४ साल माघ ३ गते प्रदेशको अस्थायी राजधानी तोकिएदेखि अहिलेसम्म प्रदेश सरकारले गरेका कामका विषयमा पुस्तकमा समेटिएको छ । प्रदेशका मन्त्रालयनै पिच्छे गरिएका कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाले जानकारी गराए ।
यस्ता छन् सम्पादित कार्यहरूको संक्षिप्त विवरण
नेपाल सरकारले मिति २०७४ माघ ३ गते प्रदेश ३ को राजधानी हेटौडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र मिति २०७४ माघ २८ गते नेपालको संविधान बमोजिम प्रदेश प्रमुखबाट श्री डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको ।
शुन्यताबाट शुरु भएको प्रदेश सरकार स्थापनाको समयमा ७ मन्त्रालय र निकायहरू रहेकोमा हाल ११ मन्त्रालय तथा प्रदेश सरकार अन्तरगत निकाय १९८ कायम रहेका ।
यस प्रदेश भित्र १३ जिल्ला, संघीय निर्वाचन क्षेत्र ३३, प्रादेशिक निर्वाचन क्षेत्र ६६ र तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी जम्मा ११९ वटा स्थानीय तहहरू रहेका
सम्वत् २०७८ को जनगणना अनुसार बागमती प्रदेशमा पुरूष ३०३३५७४ महिला ३०५०४६८ गरी कूल ६०८४०४२ जनसङ्ख्या रहेका छन् ।
प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन संशोधन समेत, अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ गरी जम्मा १८६ ओटा जारी भएको ।
प्रदेशको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्याङ्क उपयोग गरिएको ।
संघीय सरकारसंगको समन्वय र सहकार्यमा २० वटा समपुरक र विशेष अनुदानका आयोजनाहरू सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहहरूमा नवप्रवर्तनात्मक परियोजनाहरू सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवर्द्धन गरिएको ।
यस अवधिमा प्रदेश सुशासन केन्द्रमार्फत बागमती प्रदेश अन्तर्गत प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी तथा कर्मचारीहरूका क्षमता विकासतर्फ हालसम्म ५,११२ जनप्रतिनिधिहरू तथा ८,१७४ जना कर्मचारीहरू गरी कूल १३,२८६ जना लाभान्वित भएका ।
प्रदेशमा आव २०७८र०७९ सम्ममा १५५१७९ उद्योग दर्ता भएको ।
९ वटा जिल्लामा १० शीत भण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५८०० मेट्रिक टन फलफुल तथा तरकारी भण्डारणमा सहजता हुने ।
१०४१ सिंचाई योजना सम्पन्न भई १३१३४८ हेक्टर जमीनमा सिंचाई सुविधा उपलव्ध भएको र १६ वटा नदीहरूको नदी नियन्त्रणको गुरु योजना तयार गरी नदी नियन्त्रणका कार्य शुरु गरिएको ।
२७६ वटा खानेपानी योजनाहरू सम्पन्न भई थप ४६१९६ घरधुरीहरूमा आधारभूत स्तरको खानेपानी सेवा पुगेको
यस अवधिमा कच्ची सडक ७६१ किमि, ग्राभेल ७७९ किमि, कालोपत्रे ५३६ किमि, ढलान सडक १५४ किमि, सडक पुल ६९ वटा र झोलुङ्गे पुल ७ वटा सम्पन्न भएका ।
सहरी विकास तथा भवन पूर्वाधार तर्फ ३३० भवन, ४३४ पार्क निर्माण, १९५ सरकारी कार्यालय मर्मत र २०८९ जनता आवास निर्माण सम्पन्न ।
प्रदेशभित्र ५३८९७५ सवारी दर्ता भएका र १०४३६ जनाले व्यावसायिक तालिम प्राप्त गरेका ।
युवा उद्यमशीलता विकास अन्तरगत २६० स्वंयसेवक परिचालन, ४३ व्यवस्थित खेल मैदान, जिल्ला स्तरीय रङ्गशाला ७, कभर्ड हल ३० वटा सम्पन्न भएको ।
सामुदायिक वन तथा अन्यक्षेत्रमा गरी ३९६ हेक्टरमा कूल ६२२९८५ जडिबुटीको विरूवा रोपण गरिएको ।
वागमती प्रदेशलाई ९७। २२ प्रतिशत साक्षरता सहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको ।
उच्च शिक्षामा महिलाको पहूँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ छोरी बुहारीलाई छात्रवृति प्रदान गरिएको ।
प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमूना विद्यालय स्थापना , २२१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई वस सेवा उपलव्ध, ३३१ माविमा इ लाइब्रेरी, १९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र २२१ वटा सामुदायिक क्याम्पसहरूलाई सवलीकरण गरिएको ।
आधारभूत तहदेखि माध्यमिक तहसम्मका ३७८८ जना शिक्षकहरूलाई पेशागत विकास तालिम र ९०२५ जनालाई पुनरताजगी तालिम प्रदान गरिएको ।
प्रदेशभित्रका पर्यटकीय पदमार्ग, मठमन्दिर, पार्क, पर्यटन सूचना केन्द्र, पिकनिक घर र होमस्टे गरी ११५५० स्थानको सवलीकरण र व्यवस्थापन गरिएको ।
बागमती प्रदेशको पर्यटन ब्रान्ड नाम स्वीकृति गरी लागु गरिएको साथै जुगल हिमश्रृंखला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको ।
विद्यालय स्वास्थ्य, सरसफाई र छात्राहरूको स्वास्थ्य प्रवर्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म ११९ तहका ४५९ विद्यालयमा कार्यान्वयन गरिएको ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको
प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहको लागि ८२५ विभिन्न पदको विज्ञापन मार्फत परीक्षा सञ्चालन गरी नियुक्तिको लागि सिफारिस भएको ।
बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको
१३ जिल्लाका जिर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको ।
यस अवधिमा प्रदेश सरकार र मातहतका निकायहरूलाई विपक्षी बनाई दायर भएका २०८ मुद्दामध्ये ७४ मुद्दा किनारा लागिसकेको जसमा ८१ प्रतिशत मुद्दामा सफलता प्राप्त भएको ।

