मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा अन्तरगतको कामलाई पूर्ण ‘डिजिटल’ बनाइने बताएका छन् ।
यातायात अन्तरगतको सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको मन्त्री श्रेष्ठले बताए । काठमाण्डौँ उपत्यकामा यातायात ब्यवस्था तथा सेवा कार्यालयको अर्धवार्षिक समिक्षा कार्याक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलिमा सञ्चालन हुनु दुखको विषय भएको भन्दै अब पूर्ण रुपमा डिजिटल प्रणालीबाट सेवा प्रदान गर्न मन्त्रालय लागि परेको बताए । ढड्डा खोजेर काम गर्ने प्रचलनले जनताले दुख पाएको भन्दै अब कर तिर्ने, नविकरण गर्ने जस्ता कामलाई डिजिटल माध्यमबाट लैजान मन्त्रालयले तयारी गरेको बताए ।
यातायात क्षेत्र देशकै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको भन्दै जनतालाई अनावश्यक दुःख दिने परिपाटीको अब सुधार गरेर छिटो, छरितो सेवा प्रवाह गर्न लागिपर्ने उनले बताए ।
मन्त्री श्रेष्ठले सेवाको लागि कार्यालय आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्नको लागि कार्यालय प्रमुखलाई निर्देशन दिए। कार्यालयमा काम गर्न आउने जनताहरु उदास भएर हैन खुसी भएर फर्कनुपर्ने अवस्थाको सृजना हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालयमा सोहि अनुसारको ब्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
यातायात क्षेत्रमा आम जनताको गुनासो अत्याधिक रहेको भन्दै मन्त्री श्रेष्ठले नियमित काम हुँदा पनि गुनासाहरु किन बढेको भन्नेतर्फ सचेत भएर काम गर्नको लागि कर्मचारीहरु चनाखो हुनुपर्ने बताए । उनले भने ‘हामीले नियमित जनतालाई सेवा दिने काम गरेका छौँ, तर हाम्रा कार्यालयहरुमा किन जनगुनासो बढि भए ? यो सोचनिय विषय छ, हामीमा भएका कमजोरीलाई सच्याउँदै लैजानु पर्छ र जनतालाई केन्द्रमा राखेर काम गर्नुको कुनैपनि विकल्प छैन् ।’

