मकवानपुर । मकवानपुरको हेटौंडामा हुने पाँचौ संस्करणको ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २८ गते शनिबारबाट हुने गोल्डकप’ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी गराएको हो ।
खेल मैदानमा पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । प्रतियोगितामा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहने बताए ।
प्रतियोगितामा आयोजक मकवानपुर-११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभगिता रहने बताईएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिताको समापन फागुन १० गने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ ।
जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

