मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा एक महिला बाघको आक्रमण परि घाइते भएकी छिन् ।
हेटौंडाको मुख्य बजारबाट झण्डै १६ किलोमिटर दक्षिण पूर्वमा पर्ने सुकौरा भन्ने स्थानमा बाघको आक्रमणको कारण मंगलबारदेखि स्थानीयहरु त्रसित छन् । आज बाघको आक्रमणबाट स्थानीय ५६ वर्षिया मैती बयलकोटी घाइते भएकी छिन् ।
हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने बयलकोटी घाँस काट्न जानेक्रममा सुकौरामा बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । आज अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा भन्ने स्थानमा उनलाई बाघले आक्रमण गरेको थियो । उनको ढाड र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचार हुँदै गरेको ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज अर्जुनप्रसाद देवकोटाले बताए ।
बाघले मंगलबार हेटौंडा १८ हर्नामाडीको गुम्बाडाँडामा स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको थियो । बाघले आज पनि सोही स्थान राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएर छाडेको छ ।
यो क्षेत्रमा एक महिना अघि पनि बाघको आक्रमणले दजनौं बाख्रा तथा अन्य चौपाय मारेपछि स्थानीय हैरान थिए । “महिनादिन बित्न नपाउँदै फेरी बाघको आक्रमण सुरु भयो, बालबच्चा र जोगाउने कसरी, चौपाय र आफैं बाच्न गाह्रो भयो” स्थानिय कोपिला परियारले भनिन् । सामुदायिक वन बाक्लो भएसँगै जंगली जनावरको भय हुनथालेको उनले बताइन् ।

