मकवानपुर । मकवानपुरकाे हेटाैडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा उक्त प्रतियोगिता हुने भएको हाे ।
माघ १६ गते सहिद दिवसका दिन हेटौंडामा प्रतियोगिताकाे आयाेजना शनिबार हेटाैंडामा पत्रकार सम्मेलन गरि जानकारी गराइएकाे हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले वडा कार्यालयले सीमित आर्थिक स्रोत हुँदा पनि शिक्षा र खेलकुद क्षेत्र काम गरिरहेको बताए ।
४ नम्बर वडामा कभर्डहल, भलिबल कोर्ट, एथ्लेटिक्स ट्रयाक निर्माणमा वडा कार्यालयले सहयाेग गरेकाे सिग्देलले जानकारी दिए । खेलकुद राष्ट्रपति समर्पित हुने भन्दै प्रतियोगिता आयोजनामा सबै निकायले भूमिका खेल्नुपर्ने उनकाे भनाइ थियाे । खेल तथा खेलाडीलाई प्रत्साहन गर्न आगामी बजेटमा शिक्षा र खेलकुदमा समेत भौतिक पुर्वाधारमा छुट्याएको बजेट बराबरकाे बजेट विनियाेजन गर्न पहल गरिने उनले बताए ।
प्रतियाेगितामा सहभागी जनाउनेले माघ १५ गते भित्र नाम दर्ता गरिसक्नुपर्ने बताइएकाे छ । ४ नम्बर वडा कार्यालयबाट सुरू हुने दौड पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने जनाईएको छ । दौड ३ किलोमिटरको हुनेछ । प्रतियोगिातमा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार तृतीय हुनेलाई ३ हजार चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी स्लो स्कुटी रेस तर्फ प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतीय हुनेले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । दौडमा १ सय ५० जाना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा आयोजकले गरेकाे छ। संस्थागत र सामुदायिक विधालयका शिक्षकहरूले प्रतियाेगितामा सहभागी हुन पाउने बताइएकाे छ । सेवा निवृत्त शिक्षकहरूले पनि दौडमा सहभागी हुन सक्ने शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले प्रतियोगितामा प्राविधिक सहयोग रहने प्रतिबद्वता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले खेलकुद गतिविधि बढाउन सबै निकायले सहयोग गरेकोमा खुशी व्यक्त गरे । समितिले गर्न नसकेको खेलकुल गतिविधिहरू वडा कार्यालयले गर्न लागेकोमा वडा अध्यक्ष सिग्देलको खड्गीले प्रशंसा समेत गरेका छन् ।

