हेटौंडा/कोरोना संक्रमणको कारण सरकारले घोषणा गरेको लकडाउनपछि व्यवसायहरु ठप्प भएको भन्दै कर तिर्न अनाकानि गरिए पनि कर संकलनमा भने अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ ।
आन्तरिक राजश्व कार्यालय हेटौडाले गत वर्षको तुलनामा यस वर्षमा ११ प्रतिशत बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा कुल ४ अर्ब २८ करोड ५२ लाख ७० हजार राजस्व संकलन गरेकोमा यस वर्ष ४ अर्ब ७८ करोड ६६ लाख ७ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय हेटौडाले जनाएको छ ।
व्याजदर, मूल्य अभिबृद्धिकर अन्तशुल्क र स्वास्थ्य सेवा तर्फको राजश्व संकलनमा बृद्धि आएपनि आयकर गत वर्षको तुलनामा ५ प्रतिशतले घटेको छ भने घरभाडा करमा ३१ प्रतिशतले घटेको छ ।कोरोना भाईरसको संक्रमणको कारण राजस्व संकलनमा कमि आएको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताए ।
गत वर्ष आयकर ८८ करोडभन्दा बढी संकलन भएकोमा यस वर्ष ८३ करोड मात्र संकलन भएको छ । त्यस्तै घरभाडा कर गत वर्ष २ करोड ६२ हजार संकलन भएकोमा यस वर्ष १ करोड ८२ लाख संकलन भएको छ । त्यसैगरि ब्याजकर भने गतवर्षको तुलनामा १६ प्रतिशत बढेको प्रमुख ढकालले बताए ।
सबैभन्दा बढी स्वास्थ्य सेवाकर अन्तर्गत ६२ प्रतिशत बढीले बृद्धि भएको छ । गत वर्ष २० करोड ९५ लाख राजस्व संकलन भएकोमा यस वर्ष ३४ करोड राजस्व संकलन भएको छ । लकडाउनको समयमा समेत यसरी राजस्व संकलन हुनु उपलब्धिपुर्ण नै भएको प्रमुख ढकालले बताए । अझै राजस्व संकलनका समयमा कार्यालयबाट हुने विभिन्न कारवाहीका प्रक्रियाहरु अघि बढाउन नपाईएको हुँदा राजस्व संकलनमा केही कमि आएको उनले बताए ।
यसैगरि आन्तरिक राजस्व कार्यालय हेटौडाले यस वर्ष २६ वटा उद्योगहरुको खाता तथा जग्गा रोक्का गरि कारवाहि गरेको छ । यव वर्ष २३ वटासम्म उद्योगहरुलाई कारवाहि गर्ने लक्ष्य राखिएको भएपनि २६ वटालाई कारवाहि गर्न सफल भएको कार्यालय प्रमुख ढकाल बताए । मूल्य अभिबृद्धिकर नतिरेकै आधारमा कारवाहिमा परेका उनले बताए ।
उक्त कारबाहिमा परेका उद्योगहरुबाट यस वर्ष ४ करोड ८१ लाख २० हजार मुल्य अभिवृद्धि कर राजस्व संकलन हुनुपर्ने तर नतिरेकै कारण कारवाहिमा परेका हुन् ।उक्त उद्योगहरुले राजस्व नतिरेपछि पहिलो पटक टेलिफोन मार्फत १५ दिनको म्याद सहित सूचना गरिनेलगायतको प्रक्रियागत चरण अगाडि बढाइने प्रमुख ढकालले जानकारी दिए ।
कोरोनाकै महामारीका कारण भने आयकर बक्यौतामा काम गर्न नसकिएको र कारवाहिका प्रक्रिया अघि नबढाईएको उनले बताए ।

