मकवानपुर । बागमती प्रदेश सभा उपसभामुख चयनको लागि माघ २ गते निर्वाचन हुने भएको छ । शुक्रबार राप्रपाका भुवन कुमार पाठक सभामुख चयन भए पछि बसेको प्रदेशसभाको दोस्रो बैठकमा उपसभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिएका थिए ।
सभामुख पाठकको निर्देशन बमोजिम प्रमुख सचिव खड्काले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छन् । निर्वाचनको लागि विभिन्न दलका तीन जनाले शुक्रबार अपराह्न मनोनयन दर्ता समेत गराएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईले प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेर उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेर उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट गीता काफ्लेले उपसभामुख पदको उम्मेदवार दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका छन् ।
११० जना सदस्य रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समावजादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
केन्द्रीय सत्ता गठबन्धनको पद भागबन्डामा बागमती प्रदेशमा उपसभामुख एमालेको भागमा परेको छ ।


