मकवानपुर । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन् ।
माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज शनिबार बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो। बैठकले सर्वसम्मत रुपमा जमकट्टेललाई नेता चयन गरेको भने पनि पार्टीको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले असन्तुष्टी जनाएका छन् ।
संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो। संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री र हाल आर्थिक मामिला मन्त्री समेत रहेका जमकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो।
संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए ।
संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन पछि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।
सहमति भनिएको नाममा पौडेलले अहमति जनाएका छन्। संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने उनको माग थियो। उनले सामाजिक सन्जाल मार्फत असन्तुष्टि प्रकट गरेका हुन् । बागमतीमा तेस्रो पार्टी बनेको माओवादी केन्द्रका २१ सांसद छन् ।


