मकवानपुर । सगरमाथा आधारभूत बिद्यालय मनहरी ६ रूपाचुरीमा अध्ययनरत २१ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मकरलाल रुम्बा, मनहरी गाउँपालिका वडा ६ का वडाअध्यक्ष युवराज थपलीया, विद्यालयका प्रध्यानाध्यापक खड्गबहादुर मोक्तानलगायतको उपस्थितीमा हिमराइट्स मकवानपुरले खाद्यान्न वितरण गरेको हो ।
कोर इन्टरनेशलको आर्थिक सहयोग तथा मनहरी गाउँपालिकाको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको हो । खाद्यान्नको लागि काममा जाने र विद्यालय छोड्ने अवस्थामा रहेका २१ जना बालबालिकाहरुलाई खाद्य सामग्री सहयोग गरिएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले बताइन् ।
चेपाङ र तामाङ जातिको विपन्न परिवार रहेको यहाँका विभिन्न विद्यालयहरुका बालबालिकाहरुलाई हिमराइट्सले नियमित सहयोग गर्दै आएको छ । प्रति विद्यार्थी प्रति महिना ५ सयको दरले सहयोग प्रदान गर्दै आएको छ । उक्त रकम बराबरको खाद्यान्न समाग्री चौमासिक रुपमा प्रदान गर्दै आइएको वाइबाले बताइन् ।

खाद्यान्न वितरण कार्यक्रममा मनहरी वडा ६ का वडाअध्यक्ष युवराज थपलियाले सिमान्तकृत समूदायको बालबालिकालाई पढाउन र बिद्यालय बिचैमा नछाड्ने वातावरण सिर्जना गर्न लागि परेको बताए । गाउँपालिकाको विकट यो क्षेत्रमा राजमार्गबाट ५ घण्टाको पैदल बाटो धाएर पुगिने यो बस्तिमा शिक्षा स्वास्थ यातायात समस्याको सम्बोधन गर्न स्थानीय सरकार गैसरकारी संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्ने उनले बताए ।
“खाद्य वितरणभन्दा दैनिक जीविकोपार्जन गर्ने प्रकारको कार्यक्रम यस्ता विकट समूदायमा ल्याउनसकेमा जीवनस्तर माथी उठ्छ, यसम ध्यान दिनुपर्यो” वडाअध्यक्ष थपलियाले भने । परिवारको आर्थिक अवस्था राम्रो भएमा, पढाइलाई ध्यान दिन सकिने उनले बताए । गुणस्तरीय शिक्षाको लागि वडा तहबाट नियमित निगरानी गरिरहेको उनले बताए ।
कार्यक्रममा बिद्यालय प्रध्यानाध्यापक खड्गबहादुर मोक्तानले अभिभावकले पनि सन्तानको पढाइमा बेलाबेला छड्के गर्नुपर्ने बताए ।

कार्यक्रममा बिद्यालय सहायक प्राध्यापक गोपिलाल घलानको पनि उपस्थिती रहेको थियो । बालबालिकाको पढाइमा चासो राख्नको लागि प्रेरित गर्न अभिभावक शिक्षा कार्यक्रम गर्ने तयारी समेत संस्थाले गरेको हिमराइट्स मकवानपुरकी इन्दु गाेलेले बताइन् ।
हिमराइट्सले सहयोग गर्दै आएको बालबालिकाहरु कक्षागत वार्षिक नतिजा र अत्तिरीक्त कार्यक्रममा समेत उत्कृष्ट भएको प्रअ मोक्तानले बताए ।
सगरमाथा विद्यालयमा अध्ययन गर्नको लागि मनहरीको खरिवाङदेखि धाउनु पर्ने र जंगलको बाटो भएकोले कक्षा ३ वा ५ पढेर छोड्ने प्रचलन जस्तै बनेको छ ।

