मकवानपुर । कृषि शिक्षा प्रसार तथा अनुसन्धानबीच समन्वययात्मक गोष्ठी हेटौंडामा भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि बिज्ञान निर्देशनालय बागमती प्रदेशको आयोजनामा गोष्ठी गरिएको हो । कार्यक्रममा बागमती प्रदेशको कृषि मन्त्री बसुन्धरा हुमगांईले मन्त्रालयले ऐन र कार्यबिधिहरु धेरै निर्माण गरेको र कार्यान्वयन चरणमा गइसकेको बताए । चाहेमा धेरै काम गर्न सकिने बताउंदै कामको लागि इच्छा शक्ति महत्त्वपुर्ण भएको उनले बताए ।
कार्यक्रममा बिषय बिज्ञ चित्रबहादुर कुंवर, प्रा. डा अर्जुनकुमार श्रेष्ठलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । हाल नेपाल १४० वटा बिद्यालयमा कृषि बिषय पढाइ हुने गरेको र उनीहरूले बिदेशमा समेत कृषि शिक्षाको लागि अवसर लिने गरेका छन् । प्रती बर्ष २ हजार ६७० जना कृषि अध्ययनको लागि विश्वविद्यालयमा भर्ना हुने गरेको कार्यपत्र प्रस्तुतकर्ता श्रेष्ठले बताए । कृषि अध्ययनमा आकर्षण बढेकोले आशावादी हुने ठाउँ रहेको उनले बताए ।
नेपालको विश्वविद्यालयमा आन्तरिक र बाह्य समस्या रहेको उल्लेख गर्दै कृषि तथा वन विश्वविद्यालयलाई सरकारले कृषि मन्त्रालय अन्तरगत राख्नु पर्ने उनले बताए । अन्य संकाय जत्तिको लगानीले कृषि, वनमा नपुग्ने भएकोले शिक्षा मन्त्रालयले सम्बोधन गर्न नसकेको उनले बताए ।
यसैगरी कार्यपत्र प्रस्तुतकर्ता कुंवरले माटोको शक्ति बढाउनको लागि ध्यान दिनुपर्ने, कृषकको भौगोलिक क्षेत्रको समस्या पहिचान गर्ने, समाधान खोज्ने, अनुगमन, निरीक्षण, निराकरण गर्ने तर्फध्यान दिनुपर्ने बताए ।
कार्यक्रम मन्त्री हुमगाईले प्रदेशका सबै जिल्लामा कृषि र पशुका कार्यालयहरु खोलेर नागरिकलाई सहज रुपमा सेवा दिने तयारीका साथ लागिपरेको बताए । राजनीतिक अस्थिरताका कारण पनि काम दु्रतगतिमा अगाडि बढ्न नसकेको उनले बताए । तीन तहका सरकारले आफ्ना अधिकार लिएर काम गरेमा सफल हुने बताए ।
कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङले शिक्षालाई सिपमा जोड्नुपर्ने बताइन् ।
यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले नेपाललाई चाहिने खाद्यान्न अहिले पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेकोले कृषिमा संभावना खोजी अनिवार्य रहेको बताए ।

