मकवानपुर। बागमती प्रदेशको सबै जिल्लाहरुमा आज प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । गत स्थानीय तहको निर्वाचनमा जस्तो मतदातामा उल्लास नभएकाे तथ्यांकले देखाएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशको १३ जिल्लामा औषत ५८ प्रतिशत मात्रै मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार रामेछाप जिल्लाबाट ५० प्रतिशत, सिन्धुली जिल्लाबाट ५३ प्रतिशत, काभ्रे जिल्लाबाट ६० प्रतिशत, सिन्धुपाल्चोक जिल्लाबाट ५५ प्रतिशत, रसुवा जिल्लाबाट ७४ प्रतिशत,नुवाकोट जिल्लाबाट ५३ प्रतिशत, धादिङ जिल्लाबाट ५० प्रतिशत, चितवन जिल्लाबाट ६१ प्रतिशत, काठमाडौ जिल्लाबाट ६० प्रतिशत, भक्तपुर जिल्लाबाट ७० प्रतिशत, ललितपुर जिल्लाबाट ६१ प्रतिशत, मकवानपुर जिल्लालाबाट ५५ प्रतिशत मत खसेको छ ।
दोलखा जिल्लाबाट तथ्यांक आउन बाँकी रहेको पोखरेलले बताए । बागमतीमा सबै मतदान स्थलहरुमा सुरक्षा व्यवस्था बलियो भएका कारण कहिँ अप्रिय घटना नभएको प्रदेश प्रहरी कार्यालय हेटाैडाले जनाएको छ । प्रदेशको १३ जिल्लाको प्रतिनिधि सभातर्फ मात्रै ३३ निर्वाचन क्षेत्रमा ६ सयभन्दा बढी उम्मेदवारहरू रहेका थिए । प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरु रहेका छन् । जसमा अन्य समूदायका २९ जना मतदाताहरु रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।
प्रदेशको मकवानपुर जिल्लामा पनि बिहानैदेखि उत्साहजनक रुपमा मतादान भएकाे थियाे । जिल्लाको १६७ मतदान स्थलबाट ३ लाख ७ सय ३३ जनाले मतदाता रहेकोमा ५५ प्रतिशतले मतदान गरेका छन् । मकवानपुर जिल्लाको १९ वटा मतदान स्थललाई अति संवेदनशी र ६० वटालाई संवेदनशील सूचिमा राखिएको थियो,यद्यपि ती क्षेत्रमा पनि शान्ति रूपमा मतदान सकिएको छ ।
सबै मतदानस्थलहरुमा सुरक्षा व्यवस्था बलियो बनाइएको र मतपेटिका संकलनको लागि निर्वाचन निर्देशिका र सुरक्षा योजना अनुसार हेटौंडा २ स्थिति सिद्धार्थ माबिमा ल्याइदैछ । सिद्धार्थ माबिमा मकवानपुरको मतगणनाको लागि ८ वटा कोठामा तारजाली र सिसिभिटी क्यामरा जडान गरि तयारी अवस्थामा राखिएको छ ।
अहिले मकवानपुरसहित प्रदेशका जिल्लाहरुमा सदरमुकाम टाढाका मतदान केन्द्रबाट मतगणनास्थलसम्म वालेट ल्याउने क्रम जारी रहेकाे बताइएकाे छ ।

