मकवानपुर । मकवानपुरको बागमती नदीमा १ लाख माछाका भुरा छाडिएको छ । विहीवार प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरले रहु र नैनी जातका १ लाख माछाका भुरा बागमती नदीमा छाडिएको हो ।
केन्द्रका कार्यालयका प्रमुख सरोज कुमार यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जिवन उकास्नको लागि स्थानीय जातको मान्छा छोड्ने कार्यक्रम गरिएको बताए । खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि यस्तो गरेको यादवले बताए ।
उनका अनुसार नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए । जसमध्ये प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत यादवले बताए । कार्यालयले यस अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष ०७९/८० को कार्यलयको वार्षिक कार्यक्रमको रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी,कर्णाली,सप्तकोशी, कालीगण्डकी लागयतका नदीहरुमा रहेको जानकारी गराईएको थियो ।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने गर्ने समुदाय रहेको भन्दै भविश्यमा यो कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताए । घलानले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतिय उपकरणको प्रयोग र कल कारखानाबाट फालिएका विभिन्न केमिकलहरुले गर्दा खोलानालामा माछाको संख्या घट्न पुगेकोले सबै मिलेर यस्तो कार्य रोक्नुपर्ने बताए ।

