प्रीति आत्रेय ज्ञवाली
तिहारपछिको चौथो दिन यो छठ पर्दछ ।
शुक्ल कार्तिक षष्ठीमा यसको तिथि पर्दछ ॥१॥
उपासना गरी सूर्य छठीमाई उसैगरी ।
जलाशय-नदी-गङ्गा सरोवर पुगी अनि ॥२॥
आफ्नो गच्छे त हेरेर ढक्की-किस्ती थरीथरी ।
सजाई ठेकुवा रोटी फल-फूल उसैगरी ॥३॥
सायंप्रात: दिई अर्घ्य उपहार समर्पण ।
गर्दछन् सूर्यको पूजा गरेरै सब अर्पण ॥४॥
षष्ठीको दिन यो पर्दा नाम नै छठ पो भयो ।
तिथि छैठौँ परेकाले छठीमाई पनि भयो ॥५॥
छठीमाता भनी पुज्छन् छैठौँ विशेष नै भयो ।
चौथीदेखि शुरू हुन्छ सप्तमी तिथि पूर्ण भो ॥६॥
चतुर्थी पंचमी षष्ठी सप्तमी तिथि नै गनी ।
दिन चार मनाउँछन् छठ पर्व भनी अनि ॥७॥
पहिलो अरबा भैगो दोस्रो खर्ना भनी भयो ।
तेस्रो ता सँझिया भन्छन् चौथो पारण नै भयो ॥८॥
सूर्य र सूर्यकी बैनी सम्झी उपासना गरी ।
प्रकृति देव-देवीको पूजा आराधना गरी ॥९॥
छठ पर्व दुई हुन्छन् चैती र शारदी गरी ।
चैतको छठ ता चैती शारदी कार्तिकै गरी ॥१०॥
पारिवारिक समृद्धि सुखको कामना गरी ।
मनको कामना पूर्ति निमित्त व्रत नै गरी ॥११॥
आरोग्य-आयुषैनिम्ति गरेरै सूर्य प्रार्थना ।
निरोगी-स्वस्थतानिम्ति गर्दछन् सब अर्चना ॥१२॥
तराई क्षेत्रकासाथै पहाडी क्षेत्रमा पनि ।
श्रद्धालु-धार्मिकै व्यक्ति आस्था-भक्ति उसैगरी ॥१३॥
व्रतालु गर्दछन् नित्य पूजाआजा खुशी हुँदै ।
श्रद्धालु पनि सम्झिन्छन् प्रसाद जल अर्पिँदै ॥१४॥
छठ पर्व बनोस् नित्य प्रकाश सुखदायक ।
सम्पूर्ण जनकानिम्ति बनोस् यो हितकारक ॥१५॥
त्यस्तै प्रकृति नेपाल देश हाम्रो त सुन्दर ।
सूर्यको दीप्तिले पूर्ण बनोस् है देश उर्वर ॥१६॥
छन्दः अनुष्टुप्
बुटवल हाल कम्बोडिया

