मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताएका छन् ।
कांग्रेस मनहरी गाउँपालिका ६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य पदका उम्मेदवार बानियाँले कांग्रेस सँधैं दिनदुःखीको सेवामा लागिरहेको बताए । यस क्षेत्रमा कांग्रेसले अघिल्लो प्रदेशसभामा जितेपछि धेरै विकास निर्माणका कार्य गरिएको उनले बताए ।बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताउँदै विगत डेढ वर्षदेखि कांग्रेस मन्त्री मण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट यस क्षेत्रमा पार्न सफल भएकाले बताए ।
कांग्रेस मनहरी ६ का वडा सभापति बाबुराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नं। २ ख का प्रदेश सभापति एवम् मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी ६ का वडा अध्यक्ष युवराज थपलिया, पुराना तथा अग्रज नेता कुलबहादुर नगरकोटीले सत्ता गठबन्धनको आगामी चुनावकेन्द्रित धारणा राखेका थिए ।
मकवानपुरकाे प्रतिनिधि सभा क्षेत्र नं २ मा क्षेत्रमा कैलाश गाउँपालिका, राक्सिराङ्ग गाउँपालिका, मनहरी गाउँपालिका, तथा हेटौडा उपमहनागरपालिकाकाे १, ३, ११ र १९ वडा पर्दछ । यस्तै प्रदेश सभा २ खमा हेटौडा उपमहनागरपालिकाका ३ र १९ नम्बर वडा सहित कैलाश राक्सिराङ्ग र मनहरी गाउँपालिका पर्छ ।

