मकवानपुर । मकवानपुरमा गठबन्धनकाे चुनावी कार्यक्रम शुरु भएकाे छ । आइतबार मकवानपुरगढी गाउँपालिका शिखरकटेरीमा लोकतान्त्रिक वामगठबन्धनको निर्वाचन प्रचार प्रसार संयुक्त कार्यालय उद्घाटन गर्दै चुनावी कार्यक्रम गरेकाे छ ।
गठबन्धनकाे तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ का उम्मेदवार नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र निर्वाचन क्षेत्र २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य विरोध खतिवडाले संयुक्त कार्यालयकाे उद्घाटन गरेका छन् । निर्वाचन कार्यालय उद्घाटनपछि तिहार, नेपाल सम्बत्, छठ, लोसारको शुभकामना कार्यक्रममा गठबन्धनका ५ जना उम्मेदवारले सम्बोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी उपाध्याय डिनाले संविधान, संसद र लोकतन्त्रको हरण हुनबाट जोगाउन लोकतान्त्रिक वाम गठबन्धन कायम रहने बताइन् । ‘जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिहरुले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो । डिनाले भनिन्– ’एमालेले गरेको गठबन्धन अपवित्र रहेकाे छ ।’
उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेटहरु पहिलादेखि नै व्यवस्था गर्दै आएको बताइन् । कतै माओवादीको, कतै समाजवादीको र कतै कांग्रेसको उम्मेदवार छैन भन्दै उक्साउन आउनेहरुलाई कमल थापा बोकेर कस्तो लोकतन्त्र र गणतन्त्रको अनुभूति गराउन खोजेको हुन् भन्ने प्रश्न गर्न सबैलाई आग्रह गरिन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले पश्चिम मकवानपुरको विकासमा आफ्नो दशकौँ लगानी रहेको बताए । ‘बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, विकास, भौतिक पूर्वाधार सबै क्षेत्रमा कायापलट गराउने काममा आफ्नो भूमिका रहेको छ’ खतिवडाले भने–‘तीन वर्ष मुख्यमन्त्री भएका कसैले कुनै एउटा योजना १० करोड माथि पारेको भेटिनँ, मेरो कुरा काटेरै दिन बिताएछन् ।’
खतिवडाले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर लोकतन्त्र मास्न खोजेको र अहिले पनि कमल थापा, राजेन्द्र लिङ्देनहरु बोकेर संविधानको मर्ममा प्रहार गर्दै अराजकता मच्चाउन खोजेको बताए । ‘२०३६, ४६, ६३ को आन्दोलन दबाउन खोज्ने कमल थापा यतिखेर सूर्य चिन्ह बोकेर जनताको बहुदलीय जनवादको व्याख्याता भएका छन् ।’ कार्यक्रममा सामाजिक विकास मन्त्री एवम् माओवादी पोलिटब्युरो सदस्य कुमारी मुक्तानले ५ वर्षमा आफ्नो भूगोलमा विकासको कार्यक्रमहरु पारेको बताउँदै गठबन्धन विजय नजिक पुगिसकेको बताइन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क मा उम्मेदवार रहेका उनले बागमती केन्द्र सरकार, प्रदेश सरकारमार्फत हुने विकास निर्माणका कामका लागि पनि गठबन्धनलाई मत दिन आग्रह गरिन् ।
यस्तै मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को क उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले नेकपा एमाले र राजावादी शक्तिहरुको बदमासीविरुद्ध गठबन्धन उभिएको बताए । ‘आश्वासन दिने, भ्रम फैलाउने बाहेक एमालेको खास काम देखिएको छैन्’ पुलामीले भने । यता नेपाली कांग्रेस मकवानपुरका नेता एवम् मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को ख का उम्मेदवार आनन्दराम पराजुलीले एमालेले ‘तपाईंको पार्टीका उम्मेदवार नै छैनन्’ भन्दै मतदाता भड्काउने बाहेक कुनै नयाँ एजेण्डा जनतामा लान नसकेकाे बताए । गठबन्धनले सबैलाई समेट्ने र मकवानपुरको विकासमा लागि पर्ने भएकाले मकवानपुरका ६ जना नै उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।
मकवानपुरमा गठबन्धनले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क, निर्वाचन क्षेत्र नम्बर २, २ को क र ख मा पुरानै अनुहार प्रेमबहादुर पुलामी, विरोध खतिवडा, कुमारी मोक्तान र ईन्द्रबहादुर बानियाँलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा महालक्ष्मी उपाध्याय डिना र १ काे प्रदेश ख मा आनन्दराम पराजुली भने नयाँ अनुहार हुन् ।
मकवानपुर गढी गाउँपालिका यस्तो भूगोल हो, जहाँको ८ वटा वडामध्ये ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ र ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । ती वडामध्ये ४ वडा निर्वाचन क्षेत्र नम्बर १ को क मा पर्छ। ४ वटा वडा निर्वाचन क्षेत्र नम्बर २ को पनि क मा पर्छ ।

