मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पछि आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी फिर्ता लिने समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिए पछि ६९ जनाकै उम्मेदवारी कायम भएको कार्यालयले जानकारी दिएको छ । मकवानपुरमा प्रतिनिधि सभा तर्फ क्षेत्र २ र प्रदेश सभा तर्फ ४ वटा क्षेत्र रहेका छन् । गत आइतबार उम्मेदवारी दर्ता गराएका ६९ उम्मेदवारमाथि कुनैपनि उजुरी समेत परेको थिएन ।
जिल्लामा प्रतिनिधिसभाकाे निर्वाचनकाे लागि क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी प्रदेशसभाकाे निर्वाचनकाे लागि क्षेत्र नम्बर १ (क) मा ८ जना, (ख) मा १० तथा क्षेत्र नम्बर २ (क) मा १० जना र (ख) मा १५ गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएकाे छन् ।

