मकवानपुर । ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशास’ भन्ने नाराका साथ मनाईन लागेको १९ औं निजामती सेवा दिवस २०७९ अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुभकामना दिएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक निजामती कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका हुन् । ।
सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु सवै राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिर्वतन भएको महशुस गर्न सक्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सोही अनुसार कार्य सम्पादन गर्नका लागि आव्हान समेत गरेका छन् ।
निजामती सेवामा संलग्न कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहको प्रभावकारिता नै नागरिक सामु देखिने सरकारको प्रतिविम्ब भएको उनले उल्लेख गरेका छन् ।
यस सेवामा आबद्ध सबै राष्ट्रसेवकले जिम्मेवारी तथा उत्तरदायी भएर पेशागत मर्यादा कायम राखी कर्तव्यपालनमा व्यवसायिक निष्ठा र निष्पक्षताका साथ डटेर लाग्नुपर्नु आवश्यकताको रुपमा उनले औल्याएका छन् ।
“राष्ट्रसेवकले सेवा प्रवाह गर्ने क्रममा स्वच्छता, पारदर्शिता, व्यावसायिकता एवं जवाफदेहिता कायम गर्दै राज्यलाई नागरिकको घरदैलोमा पुर्याउने माध्यम निजामती सेवा भएकाले आफ्नो पेशागत दक्षता र क्षमताको पूर्ण उपयोग गरी जनताको अधिकतम सन्तुष्टिका लागि क्रियाशील रहन तथा जनस्तरमा निजामती सेवामाथि उठेका प्रश्नप्रति सचेत रही आफ्नो चारित्रिक शुद्धता कायम राख्ने जिम्मेवारी आफैले ग्रहण गर्न समेत निजामती तथा राष्ट्रसेवक कर्मचारीहरुलाई आह्वान गर्दछु” विज्ञप्तिमा भनिएको छ ।
बागमती प्रदेश सरकार प्रदेश र प्रदेश भित्र रहेका निजामती लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत सुरक्षा र उच्च मनोबल कायम गरी सेवा प्रवाहमा सुधार ल्याउनको लागि कानून तर्जुमा, संस्थागत सरचना सुधार लगायत आवश्यक अन्य पूर्वाधारहरुको व्यवस्थापन गर्नका लागि सदैव तयार रहनेमा उनले विश्वास दिलाउन चाहेको उल्लेख छ ।

