मकवानपुर । आगामी प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा नेपाली काँग्रेस पार्टीका तर्फबाट उम्मेदवारलाई टिकट दिने जिम्मेवारी सभापति शेर बहादुर देउवाले पाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सभापति देउवालाई उम्मेदवारलाई टिकट दिने जिम्मेवारी दिएकाे हाे ।
कार्यसम्पादन समितिकाे बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय गरेको हाे । यस्तै बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नेपाली काँग्रेसले जनाएकाे छ ।
कार्यसम्पादन समितिकाे निर्णयहरु :
(१) सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने ।
(२) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।
(३) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।
(४) २०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी बिधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने ।
(५) आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने ।

