मकवानपुर । नेपालको संविधानको धारा ३५ स्वास्थ्यसम्बन्धी हक अन्तर्गत (४) मा प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ । तर अझै धेरै नागरिक पानीको लागि घण्टौको बाटो धाउन बाध्य छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले भने नगरवासीलाई निःशुल्क पिउने पानीको व्यवस्था गर्न सुरु गरेको छ । यता मकवानपुर जिल्लाकै बागमती गाउँपालिका वडा २ टाँडी टोलका स्थानीयहरुले कुवाको पानी भर्न घण्टौं दुख गर्न बाध्य छन् । “अचेल वर्षा भएकोले आफूले खाने पानी मात्रै बोक्नुपर्छ, २ देखि ३ घण्टामा पानी लिएर घर आइपुग्छौ, सुख्खा समयमा त रातभर निद्रा लाग्दैन” स्थानीय दहमाया पुलामीले भनिन् “विहान ढीलो भए पानी भर्न पाइन्न, यही तर्कनाले राती निद्रा लाग्दैन, एक घण्टा सुतेर पानी खेप्न जान्छौ ।”
बस्ति नजिक धारा नभएपछि उनीहरु खोलाको छेउ कुवाबाट पानी ल्याउँछन् । “झण्डै ९० घरको लागि त्यही एउटा कुवा छ, सुख्खा समयमा त भर्दा भर्दै कुवाको पानी सकिन्छ, अरुभन्दा अघि जान राती नै नसुति पानी लिन जाने गरेको उनले बताइन् ।
लिनजान त धेरै बेर लाग्दैन, तर पालो कुर्नै बेर लाग्छ, कुवाको पानी सकिने डरले सबै चाँडो आउन हतारिन्छन्, आफू जान नभ्याउँदा छिमेकीलाई गाग्रो पठाएर गाग्रो लाइनमा राख्न भन्ने गरेको स्थानीय ममता दर्लामीले बताइन् ।
तत्कालिन राइगाउँ गाउँ विकास समितिले पानीको व्यवस्थाको लागि पहल गरेपनि हालसम्म पानीको समस्या उस्तै रहेको छ । एक वर्ष अघि बागमती गाउँपालिकाले पानी संकलनको लागि ट्याङ्की निर्माण गरेको थियो । निर्माण गरीएको ट्याङ्की भन्दा पानीको मुहान तल भएपछि घरघरमा धारा आउने र पानी पाउने स्थानीयको सपना अधुरै छ । स्थानीय तहको निर्वाचनमा नेताहरुले पानी दिने त भने पनि अहिले फर्केर नआएको स्थानीयको गुनासो छ ।
यता हेटौंडा उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनताका घोषणा पत्रमै पिउने पानी निःशुल्क गर्ने एजेण्डा उठाएको गठबन्धनले भने आफ्नो घोषणा लागु गर्ने भएको छ । नगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निःस्शुल्क उपलब्ध गराउने भएको हो। उपमहानगरमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए । उक्त निर्णय खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र लागू हुनेछ । निर्णय अनुसार २३ हजार ५ सय धाराको हकमा लागू हुने मेयर लामाले बताइन्।
उक्त सुविधाबाट हाल १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । निःशुल्क खानेपानी उपलब्ध गराए बापत उपमहानगरले हेटौंडा खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने छ । “उपभोक्ता समितिमार्फत खानेपानी प्रयोग गरिरहेकाहरुको हकमा भने विशेष निर्णय केही समयपछि गर्नेछौ” मेयर लामाले भनिन् ।
सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् निःशुल्क उपलब्ध गराउने घोषणा गरेका थियो । उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममा समेत यो विषय समेटिएको थियो ।
बागमती गाउँपालिका २ टाँडीवासीको पिडा एउटा उदाहरण मात्रै हो । मकवानपुर जिल्लाको विकट स्थानीय स्थानहरुमा अझै पिउने पानीको समस्या रहेको छ । स्वच्छ पिउने पानीको अभावपछि प्रदुषित पानी पिएकै कारण लाग्ने विभिन्न सरुवा रोगको संक्रमणले बेलाबेलामा महामारीको रुप लिने गरेको छ ।

