मकवानपुर । बागमती प्रदेशमा बार्षिक सांढे ४ लाख मेट्रीकटन दुध उत्पादन हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
प्रदेशमा रहेको १० लाख ६४ हजार ३४९ वटा गाई तथा ८ लाख ९४ हजार ९२६ वटा भैसीबाट उक्त परिणाममा दुध उत्पादन हुने गरेको प्रदेश दुग्ध विकास बोर्डको निमित्त निर्देशक डाक्टर सजिता ज्ञवलीले बताइन् ।
दुग्ध क्षेत्रको समस्या र समाधान सम्बन्धि हेटौंडामा भएको कार्यशाला गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डसंगको सहकार्यमा प्रदेश दुग्ध विकास बोर्डले कार्यक्रममा गरेको थियो ।
कार्यक्रम बागमती प्रदेश कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमगाईंले नेपाल दुधमा आत्मनिर्भर बन्दै आएको र अझै दुध क्षेत्रमा व्यवसायीताको वृद्धि गर्न ध्यान दिंनु पर्ने बताए ।
दुध उत्पादकहरूले दुधको गुणस्तरीयता कायम गर्नमा ध्यान दिनुपर्ने उनले बताए । प्रदेश सरकारले दुधमा अनुदान दिएर किसान हित गर्न खोजेको मन्त्री हुमगाईले बताए ।
कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छि मन्त्रालयका सचिब शरण पाण्डेले किसानको हितको लागि प्रदेश सरकारले ल्याएको योजनाहरू कार्यान्वयन गराउन सबैको हातेमालो आवश्यक भएको बताए ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्ड कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादब, प्रदेश दुग्ध विकास बोर्डको निमित्त निर्देशक डाक्टर सजिता ज्ञवलीलगायतले कार्यपत्र प्रस्तुति गरेका थिए । प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्दव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छि राज्य मन्त्री इन्द्रमाया गुरुङ समेतको उपस्थिति रहेको थियो ।
