मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरले असार ९ गतेबाट बालबालिकाहरुलाई फाइजर खोप लगाउने भएको छ ।
नेपाल सरकारले कोरोना विरुद्धको खोप अन्य उमेर समूहलाई लगाइसकेको भए पनि १२ वषभन्दा मुनिका बालबालिकालाई उपयुक्त हुने खोप उपलब्ध गराउन सकेको थिएन । ५ वर्ष लागेका र १२ वर्ष ननाघेका बालबालिकाहरुको लागि असार ९ गतेबाट १५ गतेसम्म पहिलो चरणमा यो खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।
खोप लगाउनको लागि सामुदायिक बिद्यालयलाई खोप केन्द्रको रुपमा व्यवस्था गरिने छ । बिश्व स्वास्थ्य संगठनले मान्यता गरेको यो खोप ९१ प्रतिशत प्रभावकारी भएको गुरागाईंले बताए ।
पहिलो चरणको खोप लगाएको २१ दिनपछि यसको दोस्रो मात्रा लगाउनु पर्ने उनले बताए । यो खोप ५ बर्षभन्दा कम र १२ बर्षमाथिको उमेरका बालबालिकाहरुले लगाउन नहुने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यो अभियानमा मकवानपुर जिल्लाका ६१ हजार ७५ बालबालिकाले खोप लिने छन् । यसका लागि ३९० जना स्वास्थकर्मी परिचालन हुने स्वास्थय कार्यालय मकवानपुरका सूचना अधिकृति लक्ष्मण घिमिरेले बताए ।
बिद्यालय नजाने वा बिद्यालयमा खोप लगाउन छुटेमा यस्ता बालकालिकाहरुलाई अभियान सकिएको भोलिपल्ट नजिकको स्वास्थ संस्थाबाट लगाउन सकिनेछ ।
स्वास्थ्य कार्यालय मकवानपुरले कोभिड १९ विरुद्ध संचालित खोप अभियानको प्रगति समिक्षा तथा फाइजर खोप अभियान संचालन बारे जानकारी दिने उदेश्यले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

