मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
निगम डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।
यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९, डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

