मकवानपुर । मकवानपुरको हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज शुक्रबारबाट सेमिफाइनलको खेल हुने भएको छ ।
हेटौंडा-५ को पिप्ले रंगशालामा शुक्रबार फाइनल प्रवेशको लगि पहिलो खेल अपरान्न ४ बजे घरेलु टोली विजय युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । विजेता टोलीले जेठ ३० गते हुने फाइनल खेलमा प्रवेश पाउनेछ । विहीबार बिहान भएको खेलमा नवजनजागृती युवा क्लव सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ सेमिफाईनलमा प्रवेश गरेको थियो ।
यसैगरि,दोस्रो सेमिफाइनल खेल शनिबार जेठ २८ गते अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । विहीबार पिप्ले रंगशालामा भएको दोस्रो खेलमा चर्चव्वाईज क्लब काठमाडौलाई ४-० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको हो ।
३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।
मोफसलको यो सबैभन्दा ठुलो धनराशीको यो प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।

