मकवानपुर । ५० औं विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित सचेतना र्यालिमा टोल विकास संस्था तर्फ हेटौंडा ५ को अब्बलडाँडा टोल विकास संस्था र विद्यालय तर्फ हेटौंडा १ को अमर माबि पहिलो भएको छ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा बिद्यालय तर्फ भुटदेवी स्काउट र नवज्योति माबि क्रमश द्वितीय र तृतीय भएका छन् । यसैगरी टोल विकास संस्थातर्फ हेटौंडा ८ को विकास टोल विकास संस्था द्वितीय तथा हेटौंडा ४ को सुर्यभैरव टोल विकाससंस्था तृतीय भएको छ । यसैगरी हेटौंडा ४ कै चिसापानी टोलविकास संस्था र हेटौंडा ११ को झोर्लुङ्गेपुल टोल विकास संस्था चौथो भएको संस्थाको सचिव शिवहरी दाहालले बताए ।

कार्यक्रममा बागमती प्रदेशका वन मन्त्री विशाल खड्काले बिचार र राजनीतिलाई पर्यावरणसँग जोडेर अघि बढ्नु पर्ने बताए । वातावरण जोगाउन मानवमैत्री विकास आवश्यक भएको भन्दै मन्त्री खड्काले जलवायु परिवर्तनको पीडा सबैले भोग्नु पर्ने भएकोले यसको सुरक्षामा चासो राख्नुपर्ने बताए ।
कार्यक्रम प्रदेश सभा सदस्य मुनु सिग्देलले पर्यावरण बचाउन सबैले आफ्नो स्थानबाट लागिपर्नु पर्ने बताइन् । यसैगरी मेयर मिना लामा तथा उपमेयर राजेश बानिँयाले टोल विकास संस्थाले वचत संकलनमा भन्दा टोलको सरसफाइ र विकासमा चासो दिनुपर्ने बताए । कार्यक्रम समितिका अध्यक्ष ध्रुव अधिकारको सभाध्यक्षमा भएको हो ।

