मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता अन्तर्गत आज शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब,काठमाडौं र फ्रेन्डस क्लब ललितपुर भिड्दै छन् ।
हेटौंडा-५ को पिप्लेक्याम्पा रंगशालामा जारी खेल शनिबार अपरान्न ४ बजे सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज काठमाडौ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

