मकवानपुर । दैनिक उपभोग्य सामग्रीमा गरिएको मुल्यबृद्वि विरुद्ध र सामाजिक न्यायको माग गर्दै अखिल नेपाल महिला संघ मकवानपुरले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन बुझाएको छ ।
देशको आर्थिक अस्तव्यस्तताको अवस्थामा सुधार हुनुको सट्टा दिनप्रतिदिन भष्ट्राचार र अनियमितता बढिरहेको भन्दै अनेमसंघले यसको बिरोध गरेको छ । “अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सत्ता गठबन्धनले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य दोब्बर बढाएको छ” ज्ञापन पत्रमा भनिएको छ ।
दैनिक उपभोग गर्ने अति आवश्यक खाध्य पदार्थको मूल्य बढदा सर्वसाधारण जनताको जीवन अस्तव्यस्त भएको र स्थानीय निर्वाचन सकिदा नसकिदै गठबन्धन सरकारले जनतालाई महंगीको मारमा पारेको विषयमा अनेमसंघको गम्भिर ध्यानाकर्षण भएको अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्र काफ्लेले बताइन् ।
महिला अधिकार हनन, महिला विरुद्धको हिंसा, शैक्षिक क्षेत्र जस्तो संवेदनशिल क्षेत्र तथा अन्य कार्यक्षेत्रमा भएका श्रीङ्खलाबद्ध यौनजन्य दुर्व्यवहार, बलात्कारपछि हत्या जस्ता गम्भिर प्रकृतिका घटनाहरु दिनप्रतिदिन उजागर भइरहेका उल्लेख गर्दै बालिका किशोरी र महिलाहरुको जीवनको सुरक्षामा ठूलो प्रश्नचिन्ह खडा भएको संघले जनाएको छ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा सत्ता गठबन्धन पालिकाहरुमा प्रमुख र उपप्रमुखको उमेदवारी दिदा पुरुषलाई मात्र प्राथमिकतामा राख्दा प्राय पालिकाहरुमा प्रमुख,उपप्रमुख तथा अध्यक्ष,उपाध्यक्षमा पुरुषहरु नै विजयी हुनुमा पनि अनेमसंघले ध्यानाकर्षण जनाएको छ ।
चौथो राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा महिला अधिकारको क्षेत्रमा देखिएका जटिल चुनौतिहरु र राष्ट्रिय सरोकार र जनताको जनजीवनको सवालमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको ज्ञापन पत्रमा भनिएको छ ।
पछिल्लो समयमा सञ्चार माध्यमबाट सार्वजनिक भएका हिंसाका घटनाहरुप्रति गम्भिर र समवेदनशिल भएको भन्दै आठवर्ष अघि सुन्दरी प्रतियोगिता (मिस टिनको नाममा प्रतियोगिता आयोजकले नै गरेको बलात्कार यौन हिंसाको श्रीङ्खलाबद्व अपराधका गतिविधिमा विद्यालय तथा घरायसी बाताबरण पनि बिग्रेको प्रति चिन्ता प्रकट गरिएको छ ।
जनता चौतर्फि समस्यामा परेको बेला गठबन्धन सरकार भने निर्वाचनमा गरिएका अनियमितता र भ्रष्टाचारलाई लुकाउन जनतामाथि महंगी र अव्यवस्था थोपर्न उद्धृत रहेको, भएका कानूनको प्रभावकारी कार्यान्वय नगर्ने होइन, आफ्नो अनुकुलतामा कानुन संशोधन गर्ने कुरामा व्यस्त रहेको र यसबाट समाजमा विकृति, विसंगती र हिंसाको शृंखला बढिरहेका काफ्लेले बताइन् ।
महिला विरुद्ध भएका बनात्कार र यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्यादका कारण त्यस्ता जघन्य अपराधहरु बाहिर आउन नसकेको कारण अपराधीहरुले खुलेआम एकपछि अर्को यौनजन्य हिंसा गरिरहेकोले यसमा अनेमसंघले आपत्ति जनाएको छ ।
बलात्कार र यौनजन्य हिंसाको सम्बन्धमा राखिएको हदम्यादका प्रावधान हटाउन, कानुन संसोधन गर्न र हिंसा पीडितको संरक्षणका साथै प्रभावितलाई तत्काल क्षतिपूर्ति सहितको छिटो न्याय (फास्ट ट्र्याक प्रणाली मार्फत दोषीलाई कडा का दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाईएको हो ।
संघ सबै प्रकारका महिला हिंसा अन्त्यका लागि कानुनको संशोधन, आवश्यक कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि जोडदार माग गरेको छ । “घटनामा सलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न र पीडितलाई न्याय र क्षतिपूर्तिको लागि जोडदार माग गर्दछ” ज्ञापनपत्रमा भनिएको छ ।

