मकवानपुर । “लोकतान्त्रमा हारजित हुन्छ, तपाईं आउनु र म आउनुमा फरक छैन, बधाई छ,सुन्दर हेटौंडा बनाउनु होस् शुभकामना” हेटौंडा उपमहानगरपालिकामा मेयरको नतिजा आधिकारिक रूपमा सार्वजनिक नहुंदै प्रत्यासीले यसरी बधाई दिए ।
हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयरको रूपमा मिना लामा निर्वाचित हुने पक्का भएपछि प्रत्यासि एमालेका उम्मेदवार अनन्त पौडेलले मतगणना स्थलमै आएर बधाई दिए । साथमा थिए गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार राजेश बानियाँ । एमालेबाट मेयरका उम्मेदवार पौडेल र उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले लामा र बानियाँ दुबैलाई बधाई तथा शुभकामना दिए । लामा र बानियाँ दुबैले आफूहरूले जित्दा पनि पौडेलको अभिभावकत्व आवश्यक रहने भन्दै सौहार्दता प्रकट गरे । “तपाईं हाम्रो अभिभावक हो,हारजित आफ्नो ठाउँमा छ,सधै साथ चाहन्छौ” लामाले भनिन् ।
संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लामाले सत्ताधारी गठबन्धनको तर्फबाट हेटौंडाको मेयर जित्ने पक्का भएको छ । हेटौंडाको ४ वटा वडाको अन्तिम परिणाम आउन बाँकी हुंदा लामा र बानियाँले दुबैले जित्ने पक्कै भएपछि गठबन्धन विजयी जुलुशको तयारीमा छ ।
बागमति प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर प्रमुख महिला बन्दै गर्दा लामाले महिला शक्तिमाथिको बिश्वासललाई व्यवहारमा देखाउने बताइन् । “जितबाट हौसिएर हैन, संयमित भएर नगरवासीको हितमा काम गर्नेछु” उनले भनिन् ।
लामो समय एमालेको लालकिल्ला रहेको हेटौंडा उपमहानगरपालिका सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी लामालाई जित हासिल गर्न कठिन हरेको आकंलन गरिन्थो । तर मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उनको जित निश्चित भएको छ ।

