मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य भइरहेकाे छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको ३६ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ ।
हालसम्म मतगणना सम्पन्न भएको ३६ वटा वडामध्ये नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । मकवानपुरमा माओवादीले १० वटा र एमालेले ७ वटा वडामा विजयी भएको छ । कांग्रेसले भीमफेदी, मनहरी, कैलाश राक्सिराङमा ३/३ वटा वडा, इन्द्रसरोबर, गढी, वकैया गाउँपालिकामा २/२ वटा र हेटौंडाको एउटा वडामा जितेको छ ।
माओवादीले थाहा नगरपालिकामा चारवटा, वकैयामा २ र भीमफेदी, कैलाश, राक्सिराङ र वागमतीमा एउटा/एउटा वडामा विजयी भएको छ । एमालेले भीमफेदीमा ३, इन्द्रसरोबरमा २, कैलाश र राक्सिराङमा १ वडामा जित हात पारेको छ । जिल्लाको दशवटा स्थानीय तहमध्ये नौवटामा सत्तारुढ गठबन्धन र इन्द्रसरोबरमा एमालेले प्रमुखमा अग्रता कायम गरेको छ ।

