चितवन । भरतपुर महानगरपालिकामा भएकाे मतगणनाकाे विषयमा विवाद हुँदा स्थगित गरिएकाे मतगणना सुरु भएकाे छ । मतगणनामा मत सदर कि बदर भन्ने विषयमा विवाद हुँदा मतगणना स्थगित गरिएकाे थियाे । भरतपुर वडा नं २ को १ हजार ९ सय मतगणना सकिएर थप मत गन्दै गर्दा मतगणना रोकिएको हाे ।
मतपत्रकाे चुनाव चिन्हमा लागेकाे आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको हाे । मतगणना स्थगित हुने वित्तिकै बसेको सर्वदलीय बैठकमा अब देखि कुनै पनि उमेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको छ।
मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो । स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको हाे । भरतपुर–२ को ८ स्थानमा मत गणना भइरहेको बेला विवाद भएकाे थियाे । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।
मतगणना अवरुद्ध हुनुअघि सम्म ५ हजार १ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १ हजार ८ सय ६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १ हजार ८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय १९ मत पाएका छन् ।

