मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत आज मगलबार राति १२ बजेबाट मौन अवधि लागु हुने भएकाे छ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुने भएकाेले निर्वाचनकाे ७२ घण्टा अगाडी नै माैन अवधी सुरु हुने भएकाे हाे ।
मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । आयोगले माैन अवधीकाे प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । यस्तै यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।
यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट सेयर गर्न वा गराउन पाइनेछैन । आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि सबैमा आग्रह गरेको छ ।
मौन अवधिभर निर्वाचन प्रचार–प्रसार गर्न, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ ।
मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, मास्क, ब्याचजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइनेछैन ।
निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ ।


