मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले विकास प्रेमी पार्टी भएको पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् ।
एमाले विकास प्रेमी पार्टी भएकै कारण जनताको रोजाइको पार्टी भएको उनले बताए । एमाले हेटौंडा ५ ले आयोजना गरेको आसन्न स्थानीय तहको निर्वाचन लक्ष्यित सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले दोब्बर मतका साथ बिजय हासिल गर्ने बताए । हेटौंडा ५ दक्षिणकालीमा भएको कोणसभामा बोल्दै पौडेलले भने “हामी हाम्रो प्रतिस्पर्धिको भन्दा दोब्बर मत ल्याएउने छौं ।”
एमालेको विजयले मात्र विकास सम्भव भएको भन्दै आफू प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि हेटौंडा प्रदेश राजधानी कायमदेखि नगरको सबै क्षेत्रमा उल्लेख्य विकास गरेको उनले बताए । अब सबै जनताले विकास गर्न एमाले नै आवश्यक भएको भन्ने कुरा बुझिसकेका छन पौडेलले भने ‘एमालेलाई पराजित गर्न योजना र सिद्धान्त नै नभएका दलहरु जनताको बिचमा भोटको लागि गैंडा र हात्ती लिएर आउन सक्ने हुँदा सजग रहन समेत आग्रह गर्छु।’

यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको जीतलाई रोक्न कसैले नसक्ने एमाले नेता तथा पार्टीबाट हेटौंडा उपमहानगरको मेयरका उम्मेदवार अनन्त पौडेलले बताए । विकास गर्ने, समृद्धि ल्याउने, देशलाई अगाडि बढाउने पार्टी नै एमाले मात्रै भएको जनताले बुझेकाले अब गठबन्धनको नाममा जसले जति भ्रम फैलाउने काम गरेपनि एमालेको जीत पक्का भएको मेयरका उम्मेदवार पौडेलले बताए ।

यसैगरी एमालेबाट हेटौंडाको उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले एमालेले जितेपछी सबैको भविष्य उज्वल हुने बताइन् । “हामीले सुमृद्धिको सूरुवात जन्मबाटै गर्नेछौ” काफ्ले भनिन् “नयाँ जन्मिने बच्चाहरुको उज्ज्वल भबिष्य बनाउने नीति एमालेले लिएको छ ।” हेटौंडा उपमहानगरपालिका भित्रका नागरिकको बच्चा जन्मिएपछी ३५ दिन भित्रमा जन्मदर्ता गरेमा उपमहानगरपालिकाले नै बैंक खाता खोलेर १ हजार रुपैयाँ जम्मा गर्ने नीति लिएका काफ्लेले बताइन् ।
घटना दर्तालाई सहज बनाउनका लागि काम गरिने, नागरिकलाई उपमहानगरपालिकासँग सहज रुपमा जोडिने माध्यम निर्माण गर्ने बताइन् । वडागत रुपमा भएको शहरी स्वास्थ्य केन्द्रलाई सुदृढीकरण गर्दै लैजाने, विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न आवश्यक सहयोग गर्ने, युवा लक्षित कार्यक्रमहरु गर्ने जस्ता योजनाहरु एमालेले बनाएको काफ्लेले बताइन् ।

कार्यक्रममा हेटौंडा ५ को वडा अध्यक्षको उम्मेदवार शुसिल घिमिरेले वडाको समृद्धिको लागि आफूले योजनाहरु बनाएको बताए । बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउन तथा उद्यमसँग जोड्न सिपबिकास कार्यक्रमका आफ्नो योजनामा रहेको घिमिरेले बताए ।
वडा समितिले घरदैलाेपछी काेणसभाकाे आयाेजना गरेकाे सचिव सुरेश लामाछानेले बताए। ‘हामीले घरदैलाे भेटघाटमा धेरै सकारात्मक उर्जा पाएका छाै’ सचिव लामीछानले भने ।

