मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ मनहरीका वडा वडामा घरदैलो गरिरहेका छन् ।
सोमबार उम्मेदवारहरुले मनहरी गाउँपालिका वडा नं ५ मा घरदैलो गरेका छन् । अध्यक्ष उम्मेदवार उप्रेती, उपाध्यक्ष उम्मेदवार थिङ, ५ नं वडाका अध्यक्षका उम्मेदवार किशोर बर्तौला, वडा सदस्य पदका उम्मेदवारहरु मोहनलाल थिङ, गीता कुमारी मुक्तान, सुनिता थिङ र राममाया नेपालीसहित एमालेका नेता कार्यकर्ताहरुले वडाका जनताको घरघरमा पुगी घरदैलाे गरेका हुन् ।
उम्मेदवारहरुले वडाको विकास, गाउँपालिकालाई समृद्ध बनाउने सपना एमालेको सरकार आए मात्रै पूरा हुने बताए ।
उम्मेदवारहरुले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुसँग आर्शिवाद लिएका छन् । वडा नं ५ स्थित किरणचोकका १ सय वर्षीय वृद्ध तेज प्रसाद ढुंगानाको घरमा पुगी उम्मेदवारहरुले आशिर्वाद लिएका हुन् । वडाका सबै ज्येष्ठ नागरिक समूहसँग उम्मेदवारको टोलीले आर्शिवाद ग्रहण गरेको थियो ।
वृद्धवृद्धाको आर्शिवाद भएकै कारण नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय पार्टी बनेको अध्यक्ष उम्मेदवार उप्रेतीले बताए ।अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी कामहरु सम्पन्न गर्ने बाचासहित अध्यक्ष उम्मेदवार उप्रेतीले मतदातासँग मत मागेका थिए ।

