मकवानपुर । नेकपा एमालेले चुनावि एजेण्डा सहित घरदैलो कार्यक्रमलाई जारी राखेको छ ।
आसन्न स्थानीय तह निर्वाचन – २०७९ प्रचारप्रसारको क्रममा नेकपा एमाले हेटौंडा ५ वडा कमिटीले आज हेटौंडा पिप्लेको विभिन्न चोकमा घरदैलो गरेको हो ।
वडा शैक्षिक विकास, युवा तथा महिला सशक्तिकरण, वृद्धवृद्धाहरुको लागि उपयुक्त सम्मानजन कार्ययोजनाहरुबारेको प्रतिबद्धता सहित उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका हुन् ।
विहीबार हेटौंडा ५ को सितानगर, बनदेबी, नविन टोल, सचेत टाले, स्कुल रोडलगायतमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको नेकपा एमाले वडा सचिव सुरेश लामिछानेले बताए । आफ्नै घरदैलोमा आफ्नो वडाको प्रतिनिधिको उम्मेदवारलाई भेटेपछि स्थानीयवासीले स्थानीय समस्या सुनाउँदै साथ साथमा विकासको अपेक्षा राखेको बताएका थिए ।

परिचित पार्टी नेकपा एमालेले आफ्नै गाउँको युवालाई वडा अध्यक्षको रुपमा उठाएको भन्दै हेटौंडा ५ वनदेबी टोलका स्थानीयहरुले खुसी व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले पार्टीबाट वडामा अध्यक्षका उम्मेदवार सुशिल घिमिरे, वडा सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाल, भगवती बिक लगायत पार्टी वडा अध्यक्ष पदम बजगाई, जिल्ला कमिटी सचिवालय सदस्य इश्वर ढुङ्गानालगायत कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

समग्रमा भाषणभन्द पनि स्थानीयको समस्या के छ, र उहाँहरुको समस्याको सम्बोधन कसरी गर्न सकिन्छ भने आफूहरुले घरदैलो कार्यक्रम गरेको अध्यक्षको उम्मेदवार घिमिरेले बताए । “हामी भाषण सुनाएर सपना बाँड्नुभन्दा काम गरेर देखाउँछौ” घिमिरेले भने “हामीले पाँच वर्षमा गर्ने कामको योजना बनाएका छौ, त्यै योजनाहरु व्यवस्थित रुपमा अगाडी बढाउँने छौ ।”
वडा कमिटीले भोली हेटौंडा उपमहानगरपालिकामा मेयरका उम्मेदवार अनन्त पौडेल, उपमेयरको उम्मेदवार सुमित्रा काफ्ले सहित घरदैलो कार्यक्रम गर्नेछ ।

