मकवानपुर ।मातातिर्थ औंसीको सन्दर्भ पारेर हेटौंडा ७ को किरण चोक आमा समूहले टोलको ज्येष्ठ नागरिक आमाहरुको सम्मानमा विशेष कार्यक्रम गरेको छ ।
टोल विकास संस्थाको आयोजनामा सामुहिक रुपमा आमाको मुख हेर्ने कार्यक्रम गरिएको हो । समूहले प्रत्येक वर्ष आमाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा टोलको आमाहरुको सम्मानमा विशेष कार्यक्रम गर्ने गरेमा यसवर्ष पनि १८ जना ज्येष्ठ नागरिक आमाहरुको लागि सम्मान तथा मिष्ठान्न भोजन गराएको हो ।
साथै शिवशक्ति एकादशी भजन समूहले आमाहरुको लागि भजन कार्यक्रमको समेत प्रस्तुती गरेको थियो । समूहको अध्यक्ष साबित्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भजन समूहका कोषाध्यक्ष बिष्णु नरालको उपस्थिती रहेको थियो ।

दिव्यसेवा निकेतन संरक्षक सुनिता बाईजीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा किरण चोक टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारी ‘यात्री’ निवर्तमान अध्यक्ष शंकर अर्याल, आमा समूहको संस्थापक अध्यक्ष इश्वरी अर्याल, निवर्तमान अध्यक्ष सुनिताकुमारी थिङ, पुर्व अध्यक्षहरु मुरली पौडेल र पशुपति जमर्कट्टेललगायतको उपस्थिती
रहेको थियो ।
ज्येष्ठ नागरिक आमाहरुलाई मनोरञ्जन प्रदान गर्ने र उहाँहरुको सम्मानमा टोल साथै साथ छ भन्ने आभाष गराउन समूहले यस्तो कार्यक्रम गर्दै आएका अध्यक्ष अधिकारीले बताइन् । कार्यक्रममा लागि समूहका सदस्यहरुले स्वइच्छिक रुपमा फलफूल तथा मिठाइहरु उपलब्ध गराएको उनले बताइन् । यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औंसी आगामी १७ गते परेको छ ।

