मकवानपुर । नेपाली काँग्रेस मकवानपुरमा लगाइएको ताला २ घण्टामा तोडिएको छ । मंगलबार पार्टीका केही कार्याकताहरुले पार्टी कार्यालयमा लगाएको ताला जिल्ला सभापति बुद्ध लामाको आदेशमा प्रहरीले तोडेको हो ।
गठबन्धनमा सहमतिको लागि पार्टीले हेटौंडाको मेयर पद छोड्न लागेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले पार्टी नगर कमिटिको बैठक बस्दै गर्दा ४ वटा ताला लगाएका थिए ।
नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति लामा र सहसचिव निशान बजगाईंको उपस्थितिमा प्रहरीले तोडेको हो । कार्यकर्ताहरुले पार्टी कार्यालयको मुल च्यानल गेट, सचिवालय, सभापतिको कार्यकक्ष, र पदाधिकारी कोठामा ताला लगाएका थिए ।
गठबन्धनको बैठनको टुङ्गाे नहुँदै, पार्टीभित्र अराजक गतिविधि गरेको भन्दै जिल्ला सभापति लामाले यस्तो कार्यमा सहभागीलाई कारवाही गर्ने चेतावनी सहित ताला तोड्न लगाएका हुन् । गठबन्धनबाट हेटौंडाको मेयर काँग्रेसको भागमा पर्नुपर्ने माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबीका साथ युवा कार्यकर्ताहरुले नाराबाजीसहित तालाबन्दी गरेका थिए ।
निर्वाचनको समयमा अराजक गतिविधि गरेको भन्दै यस्तो कार्य गर्नेलाई पार्टीले विधान अध्ययन गरेर कडा कारवाही गर्ने र अराजक गतिविधि गर्नेलाई पार्टीमा कुनै पनि स्थान नभएको लामाले बताए । “सबै कुरा बार्ताकै क्रममा छ, टुङ्गो लागेकै छैन, पार्टी कार्यालयमा ताला लगाउने बिषय गम्भीर हो, ताला लगाउनेलाई पार्टीको विधानबमोजिम हदैसम्मको कारबाही हुनेछ” लामाले भने ।
सक्तारुढ गठबन्धनमा सहभागी ५ दल मध्ये सबैभन्दा शाक्तिशाली दल नेपाली काँग्रेस भएको दाबि गर्दै हेटौंडा यउपमहनगरपालिकाको मेयर आफूहरुले पाउनु पर्ने मागमा दबाब सिर्जना गर्न आफूहरुले ताला लगाएको कार्यकर्ताहरुले बताएका छन् । कार्यालयमा ताला लगाइएको सवालमा अहिले पार्टीको जिल्ला कमिटि बैठक बसिरहेको छ । बैठकले ताला लगाउन सक्रिय नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरी सहित ४ जनालाई कारवाही गर्नसक्ने बताइएको छ ।

