मकवानपुर । झरना साहित्यिक परिवारकाे २ सय ७६ औं नियमित साहित्य शृङ्खलाकाे अवसरमा २८औं मुक्तक साँझ–२०७८ कार्यक्रम भएकाे छ । शनिबार भएकाे कार्यक्रम अन्तरगत सम्मान, प्रतियाेगिता एवम् टिकटमा मुक्तक कार्यक्रम भएकाे हाे ।
मुक्तक साँझ कार्यक्रममा मकवानपुरका ३ जना तथा अन्य जिल्लाका ३ जना अतिथि मुक्तककारकाे मुक्तक वाचन गरेका थिए ।मुक्तक साँझमा मकवानपुर, काठमाडौं, सिन्धुली र नुवाकोटका ६ जना मुक्तककारहरुले १०/१० वटा मुक्तक वाचन गरेका थिए । मकवानपुरका डिबी बर्तौला, देवेन्द्र सञ्जेल र भवानी तिमल्सिना न्याैपाने तथा सिन्धुलीका बिर्ख वाईबा, काठमाडौंकी निशा केसी र नुवाकोटकी सुशीला भट्टले १०/१० वटा मुक्तक वाचन गरेका हुन् ।
यसैगरी जनप्रिय प्राविधिक शिक्षालय हेटौंडा–१६ मा अध्ययनरत अजिता ओझा उत्कृष्ट मुक्तककार घोषित भएकी छिन् । मावि तहमा अध्ययनरत विद्यार्थीबीच आयोजित मुक्तक प्रतियोगितामा सहभागी भई उत्कृष्ट घोषित हुनुभएकी अजितालाई २ हजार ५ सय रुपैयाँ नगदसहित शिव–सावित्री अधिकारी स्मृति नवप्रतिभा मुक्तक पुरस्कार–२०७८ बाट सम्मान गरिएको छ । झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले आफ्नो आमा र बुबाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
झरना साहित्यिक परिवारको आयोजनामा भएको प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये उत्कृष्ट १० मुक्तक छनोट गरी झरनाले शनिबार प्रस्तुतीको अवसर दिएको थियो । उत्कृष्ट १० मध्ये केही प्रतियोगी प्रस्तुतीको चरणमा सहभागी नभएकाे निर्णायक सानुबाबु खनालले जानकारी दिए ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षता तथा मुक्तककार रमेश पौडेलको प्रमुख आतिथ्यमा नियमित साहित्य शृङ्खला तथा मुक्तक साँझ भएको हो । साेही अवसरमा झसपाकाे आयाेजनामा भएकाे वकैया कला साहित्य महाेत्सवमा सहभागी तथा सहयाेग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा कदर पत्र प्रदान गरिएकाे थियाे ।

